इटहरीः इटहरीबाट पछिल्लो डेढ वर्षमा स्थानीयको १९ करोड हाराहारी रकम लिएर भागेका भारतीय व्यापारीहरूसँग अझै सम्पर्क हुन सकेको छैन । २०७४ असोज १२ गते १२ करोड लिएर हिँडेका अरबिन्द अग्रवाल र गत बैशाख २० गते ७ करोड लिएर हिँडेका भुलन जैसवाल चौधरी अझै सम्पर्कमा आएका छैनन् ।
अग्रवाल इटहरीको रुचि हार्डवेयरका सञ्चालक थिए भने चौधरी इटहरीको चर्चित ओम साइ किराना तथा कैलाश किराना नामका दुई व्यापारिक फार्मका सञ्चालक थिए । भारतको अररिया जिल्ला स्थायी ठेगाना भएका र इटहरीमा व्यवसाय गर्दै आएका ५६ वर्षीय व्यापारी अरबिन्दकुमार अग्रवाल अझै सम्पर्कमा नआएका उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले बताए ।
यस्तै, भारतीय राज्य विहारको मुरलीगञ्ज मूल घर भएका भनिएका व्यापारी चौधरी पनि अझै सम्पर्कमा आएका छैनन् । यसरी स्थानीयको पैसा लिएर भागेका व्यापारीले कारोबार नमिलाएका कारण इटहरीका स्थानीयको १९ करोड हाराहारी रकम डुबेको बिष्ट बताउँछन् ।
१९ करोड डुबाएका पीडितको १ करोड १७ लाख फिर्ता
भारतीय व्यापारीद्वय अग्रवाल र चौधरीबाट इटहरीका स्थानीयको १९ करोड रकम डुबेको छ । उनीहरू दुवैले आफ्नो पसल छाडेर भागेका छन् । उनीहरूको चाबी लागेको पसलका सामानलाई स्थानीय नागरिक, प्रशासन र व्यापारीहरुले कबोल गरेर बेच्दा १ करोड १७ लाख रुपैयाँमात्रै उठेको छ ।
अग्रवालको रुचि हार्डवेयरमा भएका सामान बिक्रीबाट ६७ लाख हाराहारी रकम उठेको र प्रमाण लिएर आएकाहरूलाई समानुपातिक रूपमा बाँडेको बिष्टले बताए ।
यस्तै, ७ करोड हाराहारी रकम लिएर हिँडेका अर्का व्यापारी भुलन जैसवाल चौधरीको पसलबाट पनि ५० लाखमात्रै उठेको छ । घरभाडासहित यति रकम उठेको बिष्टले बताए ।
यस्तो छ भागेका व्यापारी खोज्न प्रहरीलाई गाह्रो पार्ने कारण
इटहरीमा व्यापार गर्ने यी भारतीयको खोजीमा अहिलेसम्म प्रहरीले कुनै सफलता हात पारेको छैन । किन करोडौँ डुबाएको केसमा पनि प्रहरी मौन छ ? यस बारेमा कुरा गर्दा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ कानुनी र प्रमाणगत कारणले प्रहरीलाई काम गर्न गाह्रो भएको बताउँछन् ।
श्रेष्ठका अनुसार तमसुक वा कुनै औपचारिक सम्झौता गरेर दिएको रकम नदिनुलाई ठगी भनिँदैन । त्यसलाई कानुनले लेनदेन भन्छ । लेनदेनको मुद्दा प्रहरीले हेर्दैन । ‘सामान्य चेक बाउन्सका कुरा त अदालतको आदेशबाट मात्रै पक्राउ गर्न मिल्छ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘लेनदेनको विषयमा प्रहरीले पक्राउ गर्न मिल्दैन ।’
ठगी गरेको कुनै लिखित प्रमाण भएमा भने प्रहरीले औपचारिक निवेदन आएपछि कारवाही प्रक्रिया अगाडि लान सक्ने श्रेष्ठ बताउँछन् । भन्छन्, ‘लेनदेनको मुद्दा कानुनी हिसाबमा प्रहरीले हेर्न मिल्दैन । हेर्न थाल्यो भने प्रहरीलाई नै कानुनी रूपमा मुद्दा लाग्न सक्छ ।’
तर, पैसाको लेनदेनमा समस्या आउँदा अदालतमा उजुरी गरेपछिको देवानी मुद्दाको केसमा भने अदालतको आदेश अनुसार काम गर्न सकिने श्रेष्ठले बताए । अहिलेको अवस्थामा न्यायिक समितिले मिलापत्र हुने स्तरमा छलफल गर्न पाउने तर प्रहरीले सिधै हेर्न नपाउने डिएसपी श्रेष्ठले बताए । कारोबार गर्दा मौखिक आश्वासन र बिनाधितो कारोबार गर्ने समस्यामा परेको आफूले पाएको श्रेष्ठले बताए ।