इटहरीः नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भङ्ग भएको छ । समयमा नै अधिवेशन गराउ ननसकेको स्वीकार गर्दै केन्द्रीय सभापति नैनसिंह महरले राजीनामा दिए । पार्टी सभापतिसमक्ष राजीनामा बुझाएको एक महिना बित्नै लाग्दा समेत तदर्थ समिति बन्न सकेको छैन ।
पार्टीको आन्तरिक किचलो र नेताहरूको स्वार्थ बाझिँदा अझैसम्म नयाँ समिति बन्न सकेको छैन । समिति बन्ने र महाधिवेशनको लागि वातावरण बन्ने भन्दा नेवि सङ्घभित्रको विवाद सडकमै छताछुल्ल भइरहेको छ ।
पार्टी सभापति पक्षधर मानिने निवर्तमान महामन्त्री सरोज थापा समूह र कृष्णप्रसाद सिटौला पक्षधर अर्का महामन्त्री कुन्दनराज काफ्ले समूहबीच पार्टी कार्यालयमा हात हालाहालै भयो । त्यतिमात्र होइन पार्टी सहमहामन्त्री प्रकाशशरण महत र विमलेन्द्र निधीलाई पार्टी कार्यालय अगाडि बाटो छेक्ने काम समेत भयो । जसका कारण पनि पार्टी नेतृत्व नेवि सङ्घका नेताहरूप्रति आक्रामक देखिन्छन् ।
नेवि सङ्घ तदर्थ समितिको सभापति को बन्ला भन्ने विषय नेवि सङ्घ भित्र र बाहिर पनि त्यत्तिकै चर्चाको विषय बनेको छ । पार्टी सभापति पक्षबाट नै धेरै आकांक्षी भएपछि विवाद झनै चुलिएको हो । सभापति र उनको समूहसँग नजिक हुने समूह पनि जोडघटाउमा सक्रिय देखिन्छ ।
संस्थापन पक्षीय नेताहरूको शीर्ष स्थानमा छन् नेवि सङ्घ पूर्व उपसभापति राजीव ढुङ्गाना । अहिलेसम्म कुनै पनि विवादमा नपरेका, शालीन र बौद्धिक नेताका रूपमा परिचित छन् ढुङगाना । उनी सभापति देउवा निकट छन् ।
सभापतिकै पक्षबाट ऋषिकेश जंग शाही पनि आकांक्षी देखिएका छन् । शाही देउवा परिवारका भित्रिया मानिन्छन् । देउवा पत्नी आरजु राणासँग उनको निकट सम्बन्ध रहेको कारण उनका दाबेदारी बलियो मानिन्छ ।
त्यस्तै निवर्तमान महामन्त्री सरोज थापा आफैँ आकांक्षी दखिएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने उनी ढुङ्गानाको विकल्पको रूपमा प्रस्तुत भएका छन् । केही दिन अघि भएको नेवि सङ्घको झडपमा एक समूहको नेतृत्व पनि उनै थापाले गरेका थिए ।
प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै निर्वाचन क्षेत्रमा काङ्ग्रेस विजयी भएको जिल्ला हो सुनसरी । त्यसैले पनि सुनसरीका ढुङ्गानाले सभापति आकांक्षा गर्नुलाई स्वभाविक मान्ने गरिएको छ । जसले उनको सम्भावनामा इँटा थप्ने काम गरेको छ ।
प्रतिनिधि सभामा निर्वाचित सीताराम मेहेता, ज्ञानेन्द्रबहादुर कार्की र विजयकुमार गच्छदार आफँै संस्थापन पक्षीय नेताहरू हुन् । तिनै नेतासँग ढुङ्गानाको निकटको सम्बन्ध रहेको छ । कसैले खुलेरै नबोले पनि नेताहरूको समर्थन आफूमै रहनेमा ढुङ्गाना विश्वस्त देखिन्छन् ।
उता, फोरम लोकतान्त्रिक विद्यार्थी सङ्घका पूर्व अध्यक्ष कपिलेश्वर यादवको नाम पनि अहिले चर्चामा छ । गच्छदारको विश्वास पात्र मानिएका उनी नेवि सङ्घका निवर्तमान सहमहान्त्री समेत हुन् । उनको ‘सेफ लेन्डिङ’को ग्यारेन्टी भएमा गच्छदारले कसलाई समर्थन गर्ने भन्ने निर्धारण हुने बुझिएको छ ।
राजनीतिका चतुर खेलाडी मानिएका गच्छदार र देउवा निकट मानिएका कार्कीको समर्थन पाएमा ढुङ्गाना सभापति बन्ने सम्भावना देखिन्छ । तर देउवाकै भित्रिया मानिएका मीन विश्वकर्मा भने उनलाई खुलेर समर्थन गर्ने पक्षमा छैनन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने उनी देउवासँगको निकटता एकछत्र बनाउन चाहन्छन् । ढुङ्गाना सभापति भएर आएमा सुनसरीको आफ्नो बोलवाला खच्कनेमा उनी सशंकित छन् ।
हालका सहमहामन्त्री प्रकाशशरण महत र उपसभापति विमलेन्द्र निधीका पनि विश्वासपात्र मानिन्छन् ढुङ्गाना । तर निधीसँगको निकटता उनको लागि त्यति फाइदाजनक देखिँदैन । तराई मधेसको एकमात्र प्रतिनिधि मान्दै आएका निधी, गच्छदार काङ्ग्रेसमा फिर्ता भएसँगै समस्यामा परेका छन् ।
गच्छदार आफैँ पनि निधीलाई पछि पार्ने दाउमा छन् । त्यसैले उनी आफ्नो पक्षका मान्छे ‘सेट’ गर्न लागिपरेका छन् । सुनसरी नै निर्वाचन क्षेत्र रहेका उनलाई मनाउन सके ढुङ्गानाको लागि थप बल मिल्ने देखिन्छ ।
उनको पक्षमा निवर्तमान उपसभापति विकास केसी, सञ्जय यादव, सहमहामन्त्री प्रकाश घिमिरे लगायतका नेताहरू देखिएका छन् । नेताहरूसँग लबिङ गर्नेदेखि कार्यकर्ता परिचालनसम्म उनीहरूले गरिरहेका छन् । प्रदेश १ बाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरू उनको पक्षमा देखिन्छन् । नेवि सङ्घको पुरानो अनुभव समेत रहेको र १२ औं अधिवेशनलाई सफल बनाउन सक्ने क्षमता भएकाले ढुङ्गाना सभापति हुनुपर्ने केसीको तर्क छ ।
पार्टी सभापति सुदूरपश्चिमको, तरुण दलको सभापति मध्य क्षेत्रको भएकाले नेवि सङ्घको सभापति पूर्वको बनाएर भौगोलिक समानता मिलाउनुपर्ने उनी बताउँछन् ।
संस्थापन पक्षबाट सर्वसम्मत हुन सक्ने सम्भावन नदेखिएका कारण नेताहरूको समर्थन नै मुख्य कारक बन्ने गरेको छ । एउटा टिमको सर्वसम्मत भए पनि पौडेल टिमबाट पनि आकांक्षीहरूको सङ्ख्या बढिरहेको छ । सभापति नभए पनि आफ्नो सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने सो टिमको दाबी छ ।
नेवि सङ्घको विषयमा मौन र विधानअनुसार सङ्गठन चल्नुपर्ने बताउँदै आएका काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आफ्नो उम्मेद्वार खडा गरेका छैनन् भने कृष्णप्रसाद सिटौलाको टिमले भने विधान मिचेर बनेको समिति नमान्ने बताउँदै आएको छ ।
पहिले ३२ वर्षे उमेरहदको विरोध गर्ने उक्त टिमले हाल तदर्थ समितिमै ३२ वर्षे उमेरहद राख्नुपर्ने अडानमा छ । संस्थापन पक्षले ३२ वर्षे उमेरहद १२ औं अधिवेशनको लागि मात्र भएको बताउँदै आएको छ । जसका कारण नेवि सङ्घभित्र झनै विवाद चुलिँदो अवस्थामा छ ।
महरले राजीनामा दिएको १ महिना पुगिसक्दा समेत अझै तदर्थ समिति बन्ने छाँटकाँट देखिएको छैन । बरु आन्तरिक विवाद र द्वन्द्व भने चर्किइरहेको छ ।