इलाम/ इलाम नगरमा सञ्चालन हुने इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजनाका लागि ४ पक्षबीच सोमबार वित्तीय सम्झौता भएको छ ।
एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण गरिने योजनाका लागि खानेपानी आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम बजार खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजना व्यवस्थापन कार्यालयको तर्फबाट उपनिर्देशक लीलाप्रसाद ढकाल, नगर विकास कोषका आयोजना संयोजक सुवास पन्त, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाबीच वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
८५ करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको अबको काम भने टेण्डर आह्वानको हुने छ । साउन महिनाभित्र टेण्डर हुने र त्यसपछि आयोजना निर्माणको ढोका खुल्ने बताइएको छ । नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत् आयोजना सञ्चालन हुन लागेको हो ।
आयोजनाका लागि विश्व बैंकमार्फत् नेपाल सरकारले ७० प्रतिशत (५८ करोड ५७ लाख), नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग (२० करोड ९२ लाख) प्राप्त हुनेछ । उपभोक्ताबाट ५ प्रतिशत अर्थात् ४ करोड २७ लाख १५ हजार रुपैयाँ सङ्कलन भइसकेको छ ।
उपभोक्ताबाट ५ प्रतिशत रकम सङ्कलन भएपछि योजना निर्माणका लागि ४ पक्षबीच वित्तीय सम्झौता भएको हो । आयोजनाको उपभोक्ता समितिले उपभोक्ताबाट १५ हजार २ सय रुपैयाँका दरले रकम सङ्कलन गरेको हो । आयोजनाको ठेक्का लागेपछि २ वर्षभित्र योजना सम्पन्न हुनेछ । लामो समयदेखि इलामवासीले झेल्दै आएको खानेपानी समस्या आयोजना निर्माणपछि अन्त्य हुनेमा स्थानीय ढुक्क छन् ।
२० वर्षसम्म खानेपानी आपूर्ति हुने
साना शहरी आयोजनाले आउँदो २० वर्षसम्म सदरमुकामको खानेपानीको माग पूरा गर्ने अनुमान छ । नगरमा प्रतिसेकेण्ड ३२ लिटर पानीको माग हुँदै आए पनि अहिले प्रतिसेकेण्ड ८ लिटर मात्र आपूर्ति भइरहेको छ । तर अब आयोजना बन्ने निश्चित भइसकेकाले २ वर्षपछि प्रतिसेकेण्ड ४४ लिटर पानी आपूर्ति हुनेछ ।
यस आयोजनाबाट ४ हजार १ सय घरधुरीका २८ हजार १ सय ७२ जना लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए ।
सदरमुकाममा १९९४ सालमा सुम्बेकस्थित भाँडीखोलाबाट ल्याइएको पानी अपुग भएपछि २०३४ सालमा सरकारले पुनः आयोजनाको स्रोत थप गरी आपूर्ति व्यवस्था मिलाएको थियो । २०४८ सालमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि त्यही आयोजनामा लगानी गरेको थियो ।
२०५४ सालमा सरकारको लगानीमा गिताङ मुहानबाट पानी ल्याउन थालिएपछि केही वर्ष त्यही पानीले धानेको थियो । २०५५ सालमा नेपाल सरकारलाई यसको सम्झौता हस्तान्तरण भएको थियो ।
अहिलेको गिताङ मुहानवासीसँग १५ वैशाख २०६९ मा पानीको स्रोत थप्ने सम्झौता भएको थियो । आयोजना सञ्चालनमा आएपछि नगरपालिकाबाट वितरण भइरहेको खानेपानी प्रणाली खारेज हुने भएको छ ।
आयोजना इलाम नगरपालिकाको वडा नम्बर ६ र ७ तथा वडा नम्बर ८÷९ को आधा–आधा भागका उपभोक्ताबाट लाभान्वित हुनेछन् । आयोजना निर्माण सम्पन्न पश्चात त्यसको सबै स्वामित्व इलाम नगरपालिकाले लिनेछ । आयोजना निर्माणका लागि जिल्लाको सन्दकपुर गाउँपालिकामा रहेको गीताङ, राते र मेवा खोलाको पानी आपूर्ती गरीनेछ । हाल पनि नगरमा गीताङ खोलाको पानी आपूर्ती भइरहेको छ । नगर बिकास कोषका आयोजना संयोजक सुवास पन्तले आयोजना निर्माणको लागि निर्माण कम्पनिसंग सम्झौता भएकै दिन ऋण तथा ब्यबस्थापन सम्झौता पनि हुने भएको जानकारी दिए ।