इटहरीः विशेषगरी बुबालास प्रजातिको अर्ना संरक्षणको लागि स्थापना भएको हाल नेपालको एक मात्र आरक्षको पहिचान बनाएको कोशी टप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउने तयारी शुरु भएको छ ।

पूर्वी नेपालको महत्वपूर्ण गन्तव्यसमेत रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नालगायत अन्य जीवजन्तुको संरक्षणमा उल्लेख्य सुधार भएपछि क्षेत्रफल बिस्तार गरी वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनाउन लागिएको हो ।

अर्ना र चराको राजधानी र अर्नाका स्वर्गको उपमा पाएको आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउन राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले केही समय अगाडि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । विभागका उपसचिव नारायण रुपाखेतीको संयोजकत्वमा रहेको ३ सदस्यीय टोलीले राष्ट्रिय निकुञ्ज बनाउन प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो ।

निकुञ्ज बनाउने अध्ययनसँगै कोशी टप्पुको क्षेत्रफल विस्तारको प्रारम्भिक प्रतिवेदन यसअघि नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले स्वीकृत गरेर वन मन्त्रालय पठाइसकेको छ । वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै विभागले आरक्षलाई बिस्तार गरी राष्ट्रिय निकुञ्ज बनाउने विषयलाई प्राथमिकतामा राखेको उपसचिव नारायण रुपाखेतीले बताए ।

विभागले २०७२ सालमै आरक्ष बिस्तारको लागि गरेको प्रारम्भिक वातावरण परीक्षणको प्रतिवेदनमा आरक्ष बिस्तारका आफ्ना योजनाहरू समावेश गरेको छ । २०३२ सालमा आरक्ष घोषणा गर्दा कोशी टप्पुमा ६३ ओटा मात्र अर्ना रहेको अभिलेख छ ।

तर पछिल्लो अर्ना गणना अनुसार कोशी टप्पुमा ४ सय ४१ वटा अर्ना रहेका छन् । यसरी अर्ना संरक्षणमा आरक्षले तथ्याङ्कगत रूपमा उपलब्धि हासिल गरेसँगै बिस्तार र निकुञ्जमा रूपान्तरण गर्न सरकारले प्राथमिकतामा राखेको छ ।

क्षेत्र बिस्तारले मौजुदा आरक्ष र चुरे, महाभारतका जङ्गलसँग सम्पर्क गरी जैविकमार्ग विकास गरिने उपसचिव रुपाखेतीले बताए । हाल कुल आरक्ष १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती क्षेत्र १ सय ७३ वर्ग किलोमिटर रहेको छ ।

‘अब यो क्षेत्रलाई बढाएर आरक्ष ३ सय १९ वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र २ सय ५६ दशमलव ६ किलोमिटर बनाउने तयारीसहितको प्रतिवेदन मन्त्रालयमा छ’, रुपाखेतीले भने, ‘सरकारले हालको कोशी ब्यारेजदेखि चतराको कोशी पुलसम्म आरक्ष बिस्तार गर्ने योजना अगाडि सारेको छ ।’