इटहरीः मोरङको बुढीगंगा– ७ वरमतियाको च्याउ फर्ममा आगलागीका कारण ५० लाख बराबरको नोक्सानी भएको छ । युवा कृषि उद्यमी विजय सापकोटाले सञ्चालन गरेको च्याउका आधुनिक टनेलसहित विभिन्न सामाग्री जल्दा ठुलो नोक्सानी भएको हो ।

सोमवार राति ८ बजे लागेको आगोका कारण सापकोटाले केही पनि निकाल्न नभ्याएको दुखेसो गरे । कसले र के कारणले आगो लाग्यो भन्ने यकिन नभएको पीडित सापकोटाले दुखेसो गरे । ६ वर्ष देखि च्याउ व्यवसायी गर्दै गरेका सापकोटाले एक वर्ष अघि देखि १० कट्ठा जमिनमा च्याउ खेती लगाएका थिए । भारतबाट आएका प्राविधिकले तयार पारेका बाँस र परालको अत्याधुनिक टनेल रहेको थियो । ती सबै खरानी भएका छन् ।

५० फिट उचाइ र २० फिट चौडाइ भएका १० ओटा टनेलमध्ये १ ओटामा मात्र च्याउ लगाइएको थियो भने बाँकीमा लगाउने प्रक्रिया सुरु हुन लागेको थियो । विभिन्न बैँकबाटसमेत ऋण लिएर थालिएको एमबी प्रडक्सनको च्याउ उद्योगमा आगो लागेपछि कसरी क्षति बेहोर्ने भन्ने अन्योलमा छन, सापकोटा । उनले सरकारी निकायले सहयोग गरिदिए कृषि पेसामा लागेको एक युवा उद्यमी पलायन हुनु नपर्ने बताउँछन ।

53321711_246248722922949_3611740236607913984_n

‘कृषि क्षेत्रमा केही गरौँ भन्ने उदेश्यले पहिलो पटक मैले यसरी ठुलो परिमाणमा लगानी गरेको थिएँ ।’ उनले भने– ‘पहिलो गाँस मै ढुङ्गा लागे जस्तो भयो, मलाई ठुलो नोक्सानी भयो ।’

आगलागीमा परि २ वर्षका लागि सञ्चित गरिएको करिब १० लाख मूल्य बराबरको पराल नष्ट भएको छ । त्यस्तै च्याउको बीउ, प्राविधिक रूपमा अतिआवश्यकीय उपकरण र अन्य सामाग्री नष्ट भएका हुन ।

उनीसमेत त्यही टनेल नजिक बसोबास गर्ने भएको हुँदा आवश्यक लत्ता कपडा र उपभोग्य सामाग्री पनि खरानी भएका छन । उनले सबै टनेलमा च्याउ लगाउँदा कम्तीमा २० लाख मूल्य बराबरको आम्दानी हुने सापकोटाले बताए ।

आर्थिक चुनौती कम गर्न उनले यस अघि बिमा कम्पनीसँग नधाएका पनि होइनन । तर, बिमा कम्पनीले बिमा गर्न नमाने पछि उनले यति ठुलो परिमाणमा नोक्सानी बेहोर्नु परेको हो ।

vlcsnap-2019-02-28-17h01m57s351

पीडितका मामा डिपी घिमिरेले सरकारले कृषि क्षेत्रको आर्थिक सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले यति ठुलो नोक्सानी भएको भन्दै राहतको व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेका हुन् ।

व्यवसायिकढंगले च्याउ खेतीमा संलग्न भएका किसान सरोज नेपालले पनि च्याउ खेतीप्रति बैङ्क र बिमा कम्पनीको हेपाहा प्रवृत्ति रहेको गुनासो गरे । ‘आर्थिक नोक्सानी कम गर्न पनि बिमा र बैङ्कलाई सरकारले उचित निर्देशन दिनैपर्छ ।’ नेपालले भने ।

52815322_10156681712802550_7399171457692991488_n