ताप्लेजुङः करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो ।
पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महिना दिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकोप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकोप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।
पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारीमा आएको थियो । ‘जब हेलिकोप्टर ओर्लियो त्यसपछि हिउँ र हुरीबतास चल्यो’, मन्दिरका पुजारीको भनाइ उद्धृत गर्र्दै व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भने । पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोलीका सदस्यले हेलिकोप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चियासमेत पिएको उनले बताए ।
घिमिरेका अनुसार मन्त्री अधिकारी हतारमा भएजस्तो देखिन्थे । फेरि मौसम थप बिग्रेला भन्ने डर पनि भएजस्तो लाग्थ्यो । स्वर्गद्वारीबाट आएका एक फलारी बाबालेसमेत मौसम खराब भएको उल्लेख गरेको घिमिरेले बताए ।
केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्रमा केही मौसम खुलेको भन्ने सूचना आएपछि पाइलटले हेलिकोप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, ‘मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर भन्न सकिँदैन ।’
हेलिकोप्टर उडेको निकै पछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले बताए । यता, सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकोप्टर पाथीभरा आउँदै छ भन्ने जानकारी आएको थिएन । तर थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताए ।
दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भीरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाइमा पर्छ । तर दुर्घटना करीब १० हजार ३ सय ९८ फिटको उचाइमा भएको थियो ।
सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोच प्रष्ट देखिए पनि घटनास्थल आँखाले ठम्याउन सक्दैन । विमानस्थलबाट करीब ६÷ ७ किलोमिटर दूरीमा पर्ने सिस्ने खोलाको शिरमा घटना भएकोे जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताए ।
घटनास्थलको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमिन छ । घटनास्थलको वरिपरी भीर छ । जानका लागि बाटोसमेत राम्रो छैन । भएको बाटो हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न २ घण्टा लाग्छ । त्यसपछि १ घण्टाको सडकमार्फत् सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडार जस्तो स्थानमा हेलिकोप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ ।
उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक सेनाका जमदार अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य ५ शव पहिचान गर्न सक्ने अवस्थामा छैनन् । पाथीभराको थुम्कोबाट उड्ने क्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भीरमा गएर ठोक्किएको हुन सक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताए ।
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न गएका मन्त्री अधिकारीसहित उनँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो ।
यसअघि ताप्लेजुङको घुन्सामा वि. सं २०६३ असोज ७ गते पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।