बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर १० मा रहेको पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सिर्जना सामुदायिक वनमा गत फागुन ४ गतेदेखि नेपालसहित ६ देशका मूर्तिकारहरू ढुङ्गा कँुदेर बसिरहेका छन् ।
घना जङ्गलमा सजाइएका ती ढुङ्गामा उज्यालो भएदेखि साँझसम्म मूर्तिकार रमाउने गरेका छन् । सो वन क्षेत्रमा १ करोड ८० लाखको लागतमा सिर्जना पार्क नाम दिएर ढुङ्गाका मूर्तिहरू बनाइँदैछ ।

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जग्गामा पार्क निर्माण गर्न थालिएको हो । फन पार्कका लागि ढुङ्गाबाट मूर्ति बनाउन नेपाल, भारत, जापान, जर्मन, बङ्गलादेश र इटालीका ४२ जना कलाकार जुटेका छन । कार्यशाला २१ गते सम्म चल्नेछ । ‘रक पार्क’का रूपमा निर्माण भइरहेको उक्त पार्कमा पर्यटकलाई आकर्षित गर्न पहिलो चरणमा विभिन्न आकृतिका मूर्ति बनाउने निर्माण समितिले जनाएको छ ।

52856694_2324913717542316_3266791042036269056_n
ढुङ्गाका मूर्ति बनाउनेमा जापानका नोरियो ताकाओका, भारतका अनुप गुप्ता, जर्मनीका पिटर हार्गेट, बङ्गलादेशका अभिजित कान्ति दास र इटालीका महिला मूर्तिकार माकी नारामुरा सहभागी छन् । यस्तै, नेपाली मूर्तिकारहरूमा सुनिता राणा, राजन काफ्ले, सुदर्शनविक्रम राणा लगायत छन् ।

निर्माण कार्यको संयोजन भने धनु याख्खाले गरिरहेका छन् । यहाँ बन्दै गरेका मूर्ति मूर्तिकारको स्वेच्छाले बनाइएका छन् । केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने किसिमका समेत बनाइने उनले बताए । बेलबारीको इतिहाससँग जोडिएको धिमाल तथा राजवंशीको मूर्ति बनाइने उनले बताए । बाँकी मूर्तिको बारेमा मूर्तिकारलाई मात्र थाहा हुने उनले बताए ।
अहिले बनिसकेका आकृतिहरूमा मङ्गोल, आर्यन र नेग्रो जातिका पुस्ताको रहनसहन झल्किने उनले बताए । माछा, हाँस, हात्ती, माउन्टेन लेडीलगायतका आकृतिहरू निर्माण भइसकेको याख्खाले बताए ।

ढुङ्गासँगको ३० वर्षे यात्रा
सुदर्शनविक्रम राणा र सुनिता राणा ३० वर्ष अघिदेखि विभिन्न स्थानमा ढुङ्गाका आकृतिहरू खोपिरहेका छन् । ललितकलामा डिग्री गरेका उनीहरू सँगसँगै ढुङ्गा कुँद्दै हिँड्ने गरेका छन् । ‘राणा खान्दानको ऐस आराम छोडेर ढुङ्गामा रमाएको ३० वर्ष भयो’, सुनिताले भनिन्, ‘हामी नेता, राजा तथा भगवानेको मूर्ति बनाउँदैनौंँ ।’ प्राचीनकालमा हुने गरको घटना तथा पशु पंक्षीहरूका आकृति ढुङ्गामा कुँदेर बनाउने गरेको उनले बताइन् ।

वनको रुख नकाटिने
जङ्गल क्षेत्रमा बनाइने पार्कभित्र कुनै पनि रुख कटान नगरिने सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्र लिम्बूले बताए । उनले पार्कको डिपिआर तयार भइरहेको समेत बताए । ५ वर्षीय योजनाको डिपिआर तयार गरी परियोजना ४० करोडमा सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
डिपिआरमा बालमैत्री क्रीडास्थल, डेढ बिघा जग्गामा पौडी पोखरी, काठबाट निर्मित कलाकृति र मोरङको सबैभन्दा पुरानो बासिन्दा धिमाल र राजवंशीको संस्कृति झल्कने सामग्रीहरू सङ्कलन गरी राखिने योजना रहेको निर्माण समितिका सचिव शङ्कर गुरुङले बताए । सामुदायिक वनको मूर्ति उद्यान क्षेत्रमा सौन्दर्य विज्ञहरूको परामर्श लिएर आकर्षण बढाउन थालिएको गुरुङको भनाइ छ ।

सत्तापक्ष र प्रतिपक्ष जोड्ने ढुङ्गा
निर्माणाधीन पार्क तथा मूर्तिकला अवलोकन गर्न दैनिक सयौको सङ््यामा आन्तरिक पर्यटक, राज्यका विभन्न निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू तथा कलाकारहरू समेत आउने गरेका छन् ।
सङ्घीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालदेखि प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता शेखर कोइराला, गुरुराज घिमिरे, प्रदेश नम्बर १ का गृहमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यशालाको अवलोकन गरेका छन् । त्यस्तै, प्रदेश सांसदहरू राजकुमार ओझा, सूयर्माराज राई लगायत पनि पुगिसकेका छन् ।

‘एकअर्काको चर्को विरोध गर्ने नेताहरू पार्कमा कुदिँदै गरेका ढुङ्गा हेरेपछि भने कसैले विरोधका कुरा नै निकाल्दैनन्,’ स्थानीय रविन थापाले भने, ‘बरु मन्त्रीदेखि प्रतिपक्षी दलका नेताहरू आएर यहाँ राम्रा कुरा सुनाएर जानुहुन्छ ।’
अवलोकन गरेका मन्त्री तथा नेताहरूले पार्क निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेका छन् । पार्क निर्माणका लागि दि रिभर ओभरसिजका सञ्चालक समेत रहेका उद्योगी र व्यवसायी तथा समाजसेवी रघु पुरीले १५ लाख आर्थिक सहयोग गरेका छन् । पार्कका संरक्षक समेत रहेका पुरीले मोरङका ओझेलमा परेका कला, संस्कृति र पर्यटकीय गन्तव्यलाई उजागर गर्न आफूले रकम सहयोग गरेको बताए ।

sirjan a1 copy

स्थानीय सरकार सक्रिय
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले बेलबारीलाई पर्यटनको क्षेत्रबाट विश्वमा चिनाउने गरी काम गरेको बताएका छन् ।
‘सिमसार क्षेत्रको पहिचानका लागि नगरपालिकाले कार्ययोजना बनाइरहेको छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रमा अर्को फड्को मार्दैछाँै ।’ उनले पर्यटकीय क्षेत्रहरूमा पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिने समेत बताए । बेलबारीमा बेतना सिमसार सहित अन्य २१ वटा सिमसार क्षेत्रहरू रहेको नगरपालिकाले जनाएको छ ।