पाँचथरः बजार चोकमा खुलेका सुविधा सम्पन्न फर्निचर उद्योगमा बनेका भन्दा गुणस्तर र आकर्षक सजावटका सामग्री, ढाका र फर्निचरका सामग्री जिल्ला कारागार पाँचथरमा निर्माण हुने भए पनि त्यसले बजार पाउन सकिरहेको छैन ।
सीप हस्तान्तरण हुँदै वर्षाैँदेखि बन्दै आएका सामग्री पछिल्ला वर्षमा अझ परिष्कृत बन्दै आएका छन् । पहिलापहिला सामान्य प्रकृतिका मुडा मात्रै बन्थे । पछिल्लो समय फरकफरक डिजाइनका मुडासहित अन्य दर्जनौ सजावटका सामग्री बन्दै आएका छन् । तर तिनले बजार नपाउँदा उपहारमै सीमित बन्दै गएका छन् ।
कारागार पुग्दा सीप नभएकाहरू पनि त्यहीँ सिकेको सीपबाट मनग्य काम गर्न सक्ने भए पनि श्रमको उचित मूल्य पाएका छैनन् । कारागारमा ७० जनाभन्दा बढीले फर्निचर सहितका सजावटका सामग्री बनाउने काम गर्छन् । मुडाबाहेक बाहिर बजारमा बेचेर पैसा लिने कैदीबन्दी भने धेरै छैनन् ।
कारागारमा मासिक ५ सय भन्दा बढी मुडा उत्पादन गर्न सक्ने जनशक्ति अहिले पनि क्रियाशील छ । तर बजार अभावका कारण बढीमा एक सयवटा मुडा बेचेर बस्नुपरेको उनीहरूको गुनासो छ । यहाँ उत्पादन भए जति सबै बिक्री हुनेगरी बजार छैन । कारागार कार्यालयका सूचना अधिकारी विमल ढुङ्गानाले बताए ।
एउटा मुडाको दाम होलसेलमा ३ सय ५० देखि ४ सय रुपैयाँसम्म पर्छ । त्यो साधारण प्रकारको मुडाका लागि हो । विशेष प्रकारको टेबल आकारमा बनाइएका मुडाहरूलाई साइज र बनावट हेरेर दाम पर्ने गरेको छ । बजार राम्रो हुने हो भने आम्दानी पनि राम्रो हुने कैदीबन्दीको भनाइ छ ।
मुडा र सजावटका सामान मात्रै नभएर कारागारमा ढाका बुनाइमा सीप भएका कैदी बन्दीको सङ्ख्या पनि ठूलो छ । पाँचथर कारागारमा ४० को हाराहारीमा त्यस्तो सीप भएकाहरू छन् । सीप भएकाहरू पनि कामविहीन अवस्थामा रहनु परेको छ । ‘हातमा सीप भएर के गर्नु बजार छैन ? बिक्री नहुने सामान बनाएर आफ्नै खर्च बढाउनु मात्रै हो,’ ढाका बुनाइमा संलग्नले भने ।
ढाकाका सामान बाहिर बजारमा अत्यधिक सम्भावना भएको मानिए पनि कारागारमा पनि उत्पादन हुन्छ भन्ने जानकारी सबैमा नहुँदा कामविहीन बन्नुपरेको छ ।
जिल्ला कारागारमा बाँसका भाटाबाट मुडा बनाउने, ढाकाका कपडा बुन्ने, हस्तकलाका सामान निर्माण गर्ने, सिलाइकटाइको काम लगायतका काम भइरहेका छन । ती कुनै पनि सीपको कारागारमा उचित मूल्याङ्कन छैन । सीप भएर पनि कारागारका कैदीबन्दीले क्षमता जति सामान निर्माण गर्न सक्दैनन् । बिक्री नहुने गरेका कारण क्षमता अनुसारको काम गर्न नसकिएको हो ।
त्यस्ता सामान निर्माणका लागि महिनामा एक पटक कडा सुरक्षाबीच कच्चापदार्थभित्र लैजाने गरिएको छ । बाँससहितका कच्चा वस्तु एकै पटक भित्र्याउने गरिएको कारागार व्यवस्थापनले जनाएको छ ।
कारागारमा अहिले १ सय ५१ जना कैदीबन्दी राखिएको छ । २५ जनाको क्षमताको कारागारमा १ सय ३४ पुरुष, १५ महिला र २ आश्रित बालबालिका छन् । क्षमताभन्दा धेरै कैदीबन्दीका कारण बेलाबेलमा समस्या समेत आउने गरेको छ । २०३० सालमा स्थापना भएको कारागार भवन ०७२ को भूकम्पका कारण जोखिममा परेको थियो ।