ताप्लेजुङः ताप्लेजुङको ओलाङचुङगोलावासीले बुनेको गलैँचाले तिब्बतमा राम्रो बजार पाउन थालेको छ । ताप्लेजुङमा उत्पादित ५ सय भन्दा बढी गलैँचा वार्षिक रूपमा तिब्बतको बजारमा पुग्ने गरेको स्थानीयले बताएका छन् ।

तान लगाएर हातले बुनेको गलैँचा निकै आकर्षक र खप्ने भएकाले राम्रो बजार पाएको व्यवसायीले बताए । एक जना व्यवसायीले कम्तीमा पनि वर्षमा १५ वटासम्म गलैँचा तिब्बतमा लगेर बेच्ने गरेको स्थानीय छेतेन शेर्पाले जानकारी दिए ।

३ हजार एक सय मिटरको उचाईमा रहेको ओलाङचुङगोलामा ५३ परिवारको बसोबास रहेको छ । त्यहाँ बसोबास गर्ने ८० प्रतिशत परिवारले गलैँचा बुन्ने गरेका छन् । स्थानीय स्तरमा पाइने उनको धागो र बजारमा पाइने धागो दुवैको प्रयोग गरेर गलैँचा बुन्ने गरिएको छ ।

न्यूनतम ११ हजारदेखि बढीमा २० हजार रुपैयाँमा बिक्री हुँदै आएको गलैँचाले राम्रो बजार पाएपछि व्यवसायीलाई हौसला समेत मिलेको छ । स्थानीय स्तरमा पाइने उनबाट बुनिएको गलैँचालाई महङ्गो पर्ने गरेको छ भने बजारमा पाइने धागोले बुनेको गलैँचालाई सस्तो पर्ने गरेको छ ।

उनीहरूले तिब्बतमा लगेर कहिले खाद्यान्न लगायतका सामग्रीसँग साट्ने गर्छन् भने कहिले नगदै लिएर बेच्ने गर्छन् ।
त्यहाँका महिलाले घरको अन्य काम भ्याएर पनि वर्षमा १५ वटासम्म गलैँचा बुनेर बेच्ने गरेको बताइएको छ । यहाँ उत्पादित गलैँचाको मुख्य बजार तिब्बत भए पनि घुम्न जाने स्वदेशी तथा विदेशीले घरैबाट समेत खरिद गरेर लाने गरेका छन् ।
यो व्यवसयसँगै जडीबुटी सङ्कलन तथा व्यापार, चौँरी पाल्ने, छुर्पी बनाउने व्यवसाय पनि जोडिएको छ । हिमाली गाउँ भएकाले यहाँको परम्परागत पेशा चौँरी पाल्ने, छुर्पी बनाउने हो । तर पछिल्लो समयमा आएर नजिकै बजार मिलेपछि गलैँचा बुन्ने व्यवसाय फस्टाएको छ ।