विराटनगरः प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय सरकारमध्ये विराटनगर एक्लो महानगर हो । राजनीति र उद्योगको जननीको रूपमा समेत चिनिएको विराटनगर ऐतिहांसिक विरासत बोकेको शहरको रूपमा चिनिन्छ ।
विराटनगर महानगरपालिकाले नगरको गरिमा उच्च राख्न विभिन्न महत्वकाङ्क्षी योजना अघि सारेको छ भने पूर्वाधार निर्माणको कार्यलाई दु्रत रूपमा अघि बढाएको जनाएको छ । अहिले एशियाली विकास बैंक एडीबीको सहयोगमा क्षेत्रीय शहरी परियोजना सञ्चालित महानगरमा लक्ष्यअनुसारको काम सम्पन्न भएको मेयर भीम पराजुलीको दाबी छ ।
अहिले परियोजना अन्तर्गत शहरभित्रको नाला निर्माणको कामलाई तीव्रता दिइएको छ । विराटनगरमा समस्याको रूपमा रहेको ढललाई उचित निकासको प्रबन्धका लागि करिब २ अर्ब ६१ करोडको योजनामा ६५ किलोमिटर ढल, ७२ किलोमिटर नाला निर्माण हुँदैछ । सोही अनुपातमा सडक पिच गर्ने करिब ३० महिनाको योजना चाँडै सम्पन्न हुँदैछ । ७ सय दिनमा सकिने उक्त योजनाले विराटनगरको मुहार फेर्ने मेयर पराजुलीको भनाइ छ ।
त्यसो त महानगरले साफ च्याम्पियनसीपलाई मध्यनजर गरेर फागुन १५ गतेभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने जनाएको थियो । एन्फासँग साफका लागि १ करोड रुपैयाँसम्मको सहयोग गर्ने सहमति गरेको महानगर आसन्न साफको पाँचौँ संस्करणमा सह आयोजकको रूपमा रहेको छ ।
नेपालमा पहिलो पटक भएको पाँचौँ महिला साफ च्याम्पियनसीपमा विराटनगरले होस्ट गर्ने सुनौलो अवसर पाएको छ । उक्त प्रतियोगितालाई लक्षित गरेर विराटनगर महानगरपालिकाले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ भने शहीद रंगशालासित विराटनगर जुट मिल्स खेलमैदान र डीभीएम स्कुलको खेलमैदानसम्म पुग्ने बाटो बनाउने जिम्मा लिएको छ ।
जसका लागि भौतिक पूर्वाधारका काम तीव्र गतिमा भइरहेका छन् । नेपालमै पहिलो पटक आयोजना गर्नेे मौका पाएको र विराटनगरमा हुने साफ गेमलाई विराटनगर महानगरले पनि महत्वका साथ लिएको मेयरले बताएका छन् ।
विराटनगरको ढल समस्यालाई समाधान गर्न विराटनगर–१४ को जतुवामा रहेको निर्माणाधीन ट्रिटमेन्ट प्लान्टमा ढल प्रशोधन हुने गरीको योजना बनाइएको हो ।
विराटनगरले दीर्घकालीन योजना अनुरूप विराट राजाको दरबारलाई ऐतिहासिक सङ्ग्रहालयको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । जसको डीपीआर तयार पार्न नै तेस्रो नगरसभाले १ करोड बजेट विनियोजन गरिसकेको छ । ‘धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र तथा विराटनगरको नाम नै विराट राजाको मिथकसँग गाँसिएको छ’ मेयर पराजुलीले भने, ‘उक्त ऐतिहासिकतालाई सम्बोधन गर्न पनि यसको संरक्षण गर्ने महानगरले योजना बनाएको छ ।’
महानगरको अर्को महत्वपुर्ण योजना भ्यु टावरलाई लिएको छ । पहिले १ सय मिटर भन्दा अग्लो बनाउने योजना बनाए पनि नागरिक उड्यान प्राधिकरणले असहमति राखेपछि अहिले ४५ मिटर सम्मको उचाइमा भ्यु टावर बनाइछाड्ने तयारी रहेको मेयर पराजुलीले जानकारी दिए । उनका अनुसार उक्त टावर १० वर्षभित्र लगानी उठाइसक्ने गरि बनाइनेछ । बाल उद्यान, व्यावसायिक कम्प्लेक्सदेखि सांस्कृतिक महत्व झल्किने गरीको भवन बनाइने छ ।
त्यस्तै सञ्ंचार क्षेत्रको बिस्तार, विकास एवम् संरक्षण गर्ने उद्देश्यले तारणीप्रसाद कोइराला सञ्चारग्रामको स्थापना गर्ने योजना रहेको छ । जहाँ विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले समाचार लेख्न पाउनेछन् भने अनुसन्धानको काम गर्ने वातावरण बन्नेछ ।
सञ्चार क्षेत्रको श्रीवृद्धिका लागि सो सञ्चारग्रामले टेवा पु¥याउने उद्देश्य लिइएको मेयरले जानकारी दिए । त्यसैगरी, विभिन्न दातृ निकायको सहयोगमा सुशीला कोइराला नाटक घर निर्माण, संयुक्त आवास कार्यक्रम सञ्चालन गरिने छ । जहाँ नेपाली रङ्गमञ्चलाई उजागर गर्ने थलो बनाइने छ भने संयुक्त आवास कार्यक्रमका माध्यमबाट विराटनगरमा कोही पनि सुकुम्बासी नहुन् भन्नका लागि योजना बनाइने छ ।
त्यस्तै, अर्को महत्वपूर्ण योजना विराटनगर प्रवेशद्वार रानी भन्सारको ओभरब्रिज हो । यसलाई प्रदेश तथा सङ्घीय सरकारले पनि महत्वका साथ हेरेको भन्दै मेयर पराजुलीले भने, ‘हामी चाँडै ओभर ब्रिज बनाउँदैछौं । यसका लागि सम्भाव्यता अध्ययन भइसक्यो, कामले चाँडै मूर्त रूप ग्रहण गर्दैछ ।’
यति मात्र होइन, विराटनगरका प्रमुख चोकमा आकाशे पुल बनाइने महानगरको योजना रहेको छ । इञ्जिनियरसँग निरन्तर सल्लाह भइरहेको हुँदा पैदलयात्रुको उच्च चाप हुने स्थानमा आकाशे पुलको माध्यमबाट सवारी आवागमन तथा यात्रुलाई थप सहजता प्रदान गर्ने नगरको योजना बनेको छ ।
विराटनगरको खानेपानीको समस्यालाई समाधान गर्ने गरी महानगरले अन्तर्राष्ट्रिय निकाय जाइकासँग सहकार्य गर्ने तयारी गरेको छ । एक घर एक धाराको नारालाई सार्थकता प्रदान गर्न जाइकाले सहयोग गर्ने तत्परता देखाएको छ । मेयरका अनुसार अब यस कार्यले पनि चांडै अन्तिम रूप ग्रहण गर्दैैछ ।
भर्खरै चीन पुगेर आएका मेयरले त्यहाँका विभिन्न संस्थासँग नगरको फोहोर व्यवस्थापनको विषयमा सहकार्य गर्ने मोडालिटिको बारे बहस गरेका छन् । जसका लागि चाँडै फोहोरबाट विद्युत उत्पादन हुने र त्यसका लागि आफूले वातावरण तयार गरिदिए चीनले लागनी गर्ने निश्चित भएको बताएका छन् । कम्तीमा १ दशमलव ५ वाटको विद्युत उत्पादन गर्न पुग्ने फोहोर सङ्कलन हुने भएको हुँदा आवश्यक लगानी गर्ने बारे चिनियाँ कम्पनी तयार भएको र सोहीअनुसार कुरा अगाडि बढिरहेको मेयर पराजुलीले जानकारी दिए ।
शिक्षा क्षेत्रमा नगरको योजना बृहत छ । नगरभित्र रहेका ६४ सरकारी विद्यालयलाई ५ वर्षभित्र गुणात्मक शिक्षामा फड्को मार्ने योजना रहेको छ । अहिले तत्काल ५ विद्यालयलाई छानेको महानगरले ५०÷५० लाख रूपैयाँ स्तरोन्नतिका लागि दिएको छ । एउटा विद्यालयलाई नमुना विद्यालयको रूपमा ग्रहण गर्न नगर आफँैले सञ्चालनको तयारी गरेको छ । जसमा सम्पूर्ण रूपमा सेवा सुविधा नगरले नै प्रदान गर्ने छ भने नगरभित्रका सम्पूर्ण विद्यालय कस्तो हुने भन्ने मोडालिटी तयार पार्नेछ ।
निरन्तर रूपमा विद्यालयको गुणस्तर वृद्धिका लागि नगरले पहलकदमी चाल्ने योजना बनाएको छ ।
त्यस्तै सन्तानलाई समान दृष्टिले हेर्ने गरी चेतना जागृत गराउने महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको छ । मेयर पराजुलीका अनुसार सबै जनप्रतिनिधिको एक मतका आधारमा पहिलो सन्तान छोरी जन्मिने परिवारलाई प्रोत्साहनस्वरूप ३ हजार रकम दिइन्छ भने दोस्रो सन्तान पनि छोरी नै हुनेका लागि २५ हजार पठनपाठनमा मात्र खर्च हुने गरी नगरले नगद दिने गरेको छ ।
‘यसले भ्रुणको आधारमा छोरीको हत्या नहोस् भन्ने हाम्रो मूल उद्देश्य हो’, मेयर पराजुलीले भने, ‘गहिरो गरी गढेको सामाजिक चिन्तन भत्काउन एकै पटक नसके पनि हामीले विभिन्न तरिकाबाट छोराछोरी सामान हुन् भन्ने भाव जागृत गराउन मात्र खोजेका हौँ ।’
सडकको स्तरोन्नतिका लागि करिब ७ सय किलोमिटर सडक पिच गर्नुपर्ने महानगरको अनुमान छ । जसका लागि ५ वर्षभित्र ३ सय किलोमिटर मात्र पिच गर्ने सामथ्र्य महानगरसँग छ । बाँकी ४ सय किलोमिटरका लागि प्रदेश, सङ्घीय सरकार र दातृ संस्थासँग गुहार गर्ने महानगरको योजना रहेको छ ।
शहरका भित्री तथा बाहिरी सडकलाई चाँडो सम्पन्न गर्न हाल रात्रीकालीन सिफ्टमा पनि काम भइरहेको मेयर पराजुलीले जानकारी दिएका छन् ।
अन्य महानगरमा भन्दा करिब पौने अर्ब कम बजेट आएको विराटनगरमा छोटो अवधिमा सोचेभन्दा राम्रो काम गर्न सकिएको मेयरको दाबी छ । भौतिक पूर्वाधारलाई मात्र नभई अन्य विकासलाई पनि उही अनुपातमा विकास गर्न जोडबल गरिरहेको बताएको महानगरले भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्र्दै जनतालाई सहज र छरितो सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारेको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि ४ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको छ । जसमा आन्तरिक आम्दनी मात्रै ५४ करोड प्रक्षेपण गरेको छ ।