प्रकाशपुरः फागुन १ गते बिहानै कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वार्डेन रामदेव चौधरीलाई सप्तरी बदागामा पोस्टका कर्मचारीको फोन आयो । अर्ना र हात्तीले मान्छेलाई हताहती बनाइरहने क्षेत्र भएकाले चौधरीले पनि त्यस्तै लख काटेर फोन उठाए । नभन्दै चौधरीले सोचेजस्तै ५ जना स्थानीयहरुलाई घाइते बनाएको जानकारी आएको थियो ।

घाइते बनाएको समाचारले चिन्तित वार्डेन चौधरी अर्को विषयले अचम्ममा परे । अरुबेला स्थानीयहरू अर्ना र हात्तीको आक्रमणले घाइते हुन्थे । तर, यस पटक भने चितुवा (कमन लियोपार्ड) को आक्रमणमा स्थानीय परेका थिए ।
सो दिन सप्तरीको कञ्चनरूप नगरपालिका वार्ड नम्बर १० स्थित बदागामामा कोशी टप्पुबाट निस्किएको चितुवाले ५ जना स्थानीयलाई घाइते बनाएपछि कोशी टप्पुमा चितुवा रहेको पत्ता लागेको हो ।

कोशी टप्पुमा रहेको सो चितुवाले बकञ्चनरूपको वडा नम्बर १० का ५ जना स्थानीयलाई फिलामा आक्रमण गरेर घाइते बनाएको थियो । कोशी टप्पुमा बिरालो प्रजातिका साना किसिमका जनावर देखिँदै आए तापनि पछिल्लो समयमा चितुवा भने देखिएको थिएन ।
अधिकांश भाग सिमसारले समेत ओगटेको आरक्षमा माछा खाने मलाहा बिरालो (फिसिङ क्याट) भने पाइने गरेको छ । तर निकै वर्ष पहिले मात्र पाटेबाघ लगायतका अन्य ठूला मांसाहारी जनावर भएको प्रमाणित भए पनि पछिल्ला पुस्ताहरूले भने कोशी टप्पुमा चितुवा भेटेका थिएनन् ।
सन् १९७० को दशकसम्म पाइने पाटे बाघ हाल आएर कोशी टप्पुमा आरक्ष क्षेत्रबाट लोप भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नै जनाएको छ ।

‘हामीले पढ्दै आएको विषय फेल भएको छ । ह्रिंसक वन्यजन्तु छैन भनेर पढ्दै आएकामा अब भने परिवर्तन हुने भएको छ’, वार्डेन रामदेव चौधरीले भने, ‘ह्रिंसक जनावारलाई आवश्यक आहाराजन्य अर्थात् खान मिल्ने जनावरको सङ्ख्या बढ्दै गएको छ त्यसैले अब कोशी टप्पु क्षेत्रमा पनि चितुवा देखिन थालेको छ ।’
केही समय अगाडि आरक्षमा पर्यटक घुमाउने क्रममा स्थानीय पर्यटन व्यवसायी सुवास भुजेलले चितुवाको पाइला पत्ता लगाएका थिए । प्रकाशपुर राजावास स्थित सप्तकोशी नदीको बगरमा पाइला भेटिए पनि चितुवा भने देख्न सकिएको थिएन ।

चुरे क्षेत्रको पनि माथिल्लो भागमा मात्र देखिँदै आएको चितुवा तल्लो तराई क्षेत्रमा भने नभेटिने गरेको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए । ‘प्रायः माथिल्लो इलाकामा पाइने वन्यजन्तु हो चितुवा’, कँडेलले भने, ‘माथिल्लो भागमा आहारको कमी र कोशी टप्पुमा आहारको व्यवस्था राम्रो भएकाले पनि आउन सकेको हुन्छ ।’

चितुवाको आक्रमणमा परेका पाँचै जनाको स्थिति अहिले सामान्य रहेको छ । आक्रमणपछि आरक्षको नियन्त्रणमा रहेको चितुवालाई पनि केही दिनमा पुन आरक्ष क्षेत्रमा छोड्ने तयारी रहेको जानकारी प्रशासनले दिएको छ ।