ताप्लेजुङ: कच्चा पदार्थको अभावमा ताप्लेजुङमा रहेका हाते कागज उद्योगहरु संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने मुख्य कच्चा पदार्थ लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ मध्ये लोत्ता प्रमुख हो ।
फुङलिङ नगरपालिका ६ मा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाले पछिल्लो समयमा लोक्ताको अभावले गर्दा उद्योग चलाउन समस्या भएको बताए । ‘पहिले जस्तो प्रयाप्त लोक्ता नपाउँदा समस्या भएको छ, अर्का तिर दक्ष कामदार पाउन पनि उतिकै मुस्किल छ’–शेर्पाले भने । उता सिदिङ्वा गाउँपालिका ७ का व्यवसायी देउबहादुर लिम्बुले पनि लोत्ता नहुँदा माग भए अनुसार उत्पादन गर्न नसकिएको बताएका छन् । नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाए पनि माग अनुसारको उत्पादन गर्न नसकिएकोमा उद्योग व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । कमै मात्रामा पाईने लोत्ता सामुदायिक बनबाट निकाल्न समेत लामो प्रकृया अपनाउनु पर्ने भएकाले समयमा निकाल्न असम्भव हुने व्यवसायीले बताएका छन् ।
लोत्ता विशेष गरी पहाडी तथा हिमाली जिल्लाका महाभारत श्रृंखला र त्यस्को उत्तरी भागका ५,००० फिट देखि १०,००० फिट सम्म (समुद्री सतह भन्दा माथी) को उचाइका चिसो, ओसिलो, बढी पात पतिंगर कुहिएको ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाईने गर्दछ । नेपाली कागजको माग राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा वढेपनि कच्चा पदार्थ कै अभावमा माग पुर्ति गर्न नसकेको यहाँका कागज उद्योग सञ्चालकहरु वताउँछन् । शुद्ध लोक्ताबाट बन्ने कागज विषेश गरि जापान सरकारले जापानी एन (जापानी मुद्रा) बनाउन प्रयोग गर्ने गर्दछ । त्यस्तै यहाँ निर्मित हाते कागज अमेरिका, थाइल्याण्ड लगायतका मुलुकमा निर्यात हुने गरेको छ ।
यसैविच घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङमा भने झण्डै २५ वढि नेपाली हाते कागज उद्योग दर्ता भएको छ । शाखाको आँकडा हेर्दा सवै उद्योगले वार्षिक रुपमा उद्योग नविकरण गरि रहेको देखिएको छ । यद्यपि उद्योगहरु भने कमै मात्रामा सञ्चालनमा रहेका छन् । उद्योग दर्ता प्रकृया अलि वढि झन्झटिलो भएकाले पनि दर्ता भएका उद्योग हरु प्रत्येक वर्ष नविकरण हुने गरेको कार्यालयको भनाई छ ।