उदयपुरः पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्री गर्ने अभियान चलाएका छन् ।
जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्री गर्ने अभियान शुरु गरेको हो ।
जिल्लाको सदरमुकाम गाईघाट, कटारी तथा बेलटार क्षेत्रका होटल व्यवसायीले यहाँका दलित, आदिवासी र जनजाति समुदायका विभिन्न खानाका परिकार उत्पादन गरी बिक्री गर्ने कार्य शुरु गरेको जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
स्थानीय खानाको परिकार उत्पादन र बिक्री गर्न थालेपछि होटल व्यवसायसमेत फष्टाउन थालेको अध्यक्ष श्रेष्ठले बताए । हाल गाईघाट बजारका होटलमा स्थानीय थारू जातिको खानाको परिकार बगिया तथा घुङ्गी, नेवार जातिको छोयला, कचिला, योमरी तथा मगर, दनुवार र राई जातिका ढिँडो, दाल सिस्नो, सिन्की, गुन्द्रुकको परिकार उत्पादन तथा बिक्री गर्न थालिएको बताइएको छ ।
यसैगरी क्षेत्री, ब्रह्माणका खानाको परिकार सेलरोटी, खिर, खिचडी, ढिँडो, गुन्द्रुकजस्ता परिकार होटलमा बिक्री हुन थालेपछि अहिले जिल्लाभित्रका आगन्तुकबाट नै होटल भरिभराउ हुने गरेको मेलिना होटलका सञ्चालक गङ्गाबहादुर राई बताउँछन् ।
सबैभन्दा बढी बिक्री हुने र अधिकांशले मन पराउने खानाको परिकारमा मकैको ढिँडो, दाल, सिस्नो, गुन्द्रुक, सिन्की, मुलाको अचार, घोंगी बगिया, छोयला र कचिला रहेको होटल व्यवसायी बताउँछन् ।
ढिँडो, गुन्द्रुक, सिस्नो र दाल, घोंगी खानका लागि टाढा–टाढाबाट यहाँ आगन्तुक आउने गरेको होटल सञ्चालकको भनाइ छ ।
कटारी, बेल्टार बजारका क्षेत्रमा समेत अहिले स्थानीय खानाका परिकार बनाउन शुरु भएपछि स्थानीयवासीदेखि बाहिरबाट आउने आगन्तुकको सङ्ख्यामा समेत वृद्धि भएको होटल सञ्चालक बताउँछन् । होटलमा आउने ग्राहकमध्ये ५० प्रतिशतले स्थानीय खानाको माग गर्ने गरेको होटल सञ्चालक बताउँछन् ।
जिल्ला होटल व्यवसाय सङ्घ उदयपुरको अगुवाइमा जिल्लाको स्थानीय खानाको पहिचान गराउने र आन्तरिक पर्यटकको विकासमा वृद्धि गर्न खानाको परिकारको उत्पादन र बिक्री गर्ने कार्य अगाडि बढेसँगै होटलमा स्थानीय खानाको बिक्रीमा वृद्धि भएको होटल सञ्चालकको भनाइ छ ।