प्रकाशपुरः नगरपालिकामा काम गर्ने कर्मचारीहरूको स्थानीय भत्ता बन्द गरेर वराहक्षेत्रका जनप्रतिनिधिहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्ने निर्णय गरेका छन् । दोस्रो नगरसभामा जनप्रतिनिधिहरू आफैँले गरेको निर्णयलाई संशोधन गर्ने नाममा कर्मचारीहरूले खाइपाई आएको भत्ता बन्द गराएर जनप्रतिनिधिलाई थप सेवा सुविधा दिने निर्णय तेस्रो नगरसभाको बैठकले गरेको हो ।

आर्थिक वर्ष २०७५÷७६ का लागि स्थानीय भत्ताको शीर्षकमा दोस्रो नगरसभाले ५२ लाख र पदाधिकारीको अन्य सुविधा भन्दै जनप्रतिनिधिहरूको लागि ४५ लाख रकम छुट्याएको थियो । तर गत सातामात्र बसेको नगरपालिकाको तेस्रो नगरसभाले कर्मचारीको स्थानीय भत्ताबापतको ५२ लाख रुपैयाँलाई १४ लाख २८ हजारमा झारेर पदाधिकारीको सुविधालाई भने ४५ लाख बाट ५४ लाख ६१ हजार पु¥याएको हो ।

दोस्रो नगरसभाले स्थानीय भत्ताबापत छुट्याएको बजेट मेयर नीलम खनालले वितरण नगर्न मौखिक रूपमा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिए । कर्मचारीहरूले जनप्रतिनिधिहरूलाई खुसुक्क पास गराएको र अनावश्यक खर्चमा कटौती गर्ने भन्दै रोकेका थिए ।

मौखिक आदेशमा रकम रोकिएको भन्दै केही कर्मचारीहरूले आफूले खाइपाई आएको सुविधा दिनुपर्ने माग राखी कार्यपालिकामा निवेदन पनि दर्ता गरेका थिए । जनप्रतिनिधिहरूको सेवासुविधा भने नरोकिएर आफ्नो मात्र रोकिएकाले कर्मचारीले निवेदन दिएकोमा कर्मचारीको निवेदनमाथि मेयरले कुनै सुनुवाइ गर्नै चाहेनन् ।

स्थानीय बुद्धिजीविहरूले पनि खर्च कटौतीको रणनीति राम्रै भएको टिप्पणी गरेका थिए । ‘कर्मचारीले खाइपाई आएको भत्तालाई रोकेर हावा सल्लाहको पछि कुद्दै निर्वाचित जनप्रतिनिधिहरूले भत्तामा पैसा सक्ने षड्यन्त्र हो यो’, नगरपालिकाकै एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘काम गर्नेलाई प्रोत्साहन गर्नुभन्दा पनि पेलेर थिचेर लग्न खोज्दैछन् । नगरलाई कर्माचारीको सहयोग चाहिएको छैन शायद ।’

कर्मचारीको भत्ता निर्णयबिना नै रोके पनि चालु खर्चअन्तर्गतकै पदाधिकारीको थप सुविधा शीर्षकको रकम भने निर्वाध रूपमा निर्वाचित जनप्रतिनिधिहरूले लिई नै रहेका थिए । खर्च कटौती गर्ने नीति लिएको भनिरहेका मेयर खनालले काम गर्ने योजना कार्यान्वयन गर्ने कर्मचारीको भत्तालाई कटौती गराएर निर्वाचित प्रतिनिधिहरूको सुविधामा भने वृद्धि गरेका हुन् ।

समायोजन भएर वराहक्षेत्र आउन चाहने कर्मचारी न्यून
सेवासुविधामा भएको विभेदकै कारण स्थानीय तहमा समायोजन हुन चाहने कर्मचारीको रोजाइमा वराहक्षेत्र नगरपालिका परेको छैन । सेवासुविधामा भएको व्यापक विभेदका कारण वराहक्षेत्रमा काम गर्दै आएका धेरै कर्मचारीहरू सरुवा लिएर हिँडिसकेका छन् ।

नगरपालिकामा समायोजन भएर आउन चाहनेहरू पनि अवकाश हुन लागेका र घरपायकको हिसाबले मात्र आएका छन् । ‘सुविधाको बारेमा थाहा थिएन। देशैभरि दिइने सुविधा त्यहाँ (वराहक्षेत्र)मा दिएको रहेनछ । नयाँ भनेर जान खोजेको थिएँ । धन्न गइएन’, वराहक्षेत्र नै घर भएका सुब्बा सरहका एक कर्मचारीले भने, ‘देशैभरि दिएको सुविधालाई छोडेर झन् सुविधा नभएको ठाउँमा गइन्न । केही हुन्छ भनेर निजामतीमा आएको खालि हात काम गर्न मात्र सकिँदैन ।’

हाल नगरपालिकामा काम गर्ने कर्मचारीहरूको पनि समायोजनमा अन्य स्थानीय तहहरू नै परे । वराहक्षेत्र नगरपालिकाबाट भर्खरै मात्र सरुवा लिएका एक कर्मचारीले भने, ‘दरबन्दीअनुसारका कर्मचारी छैनन्, ‘दिनरात सीमित कर्मचारी भएको बेला पनि काम गर्दा थप सुविधा छैन’, जनप्रतिनिधिहरूलाई इङ्गित गर्दै उनले भने, ‘थपक्क आयो, बसो, गफ ग¥यो अनि हिँड्यो गर्नेलाई चैँ बढेको बढ्यै ।’