इटहरीः इटहरीले प्रदेश १ को स्थायी राजधानीको माग गरिरहेको छ । तर त्यही बेला इटहरीका केही युवाहरूले भने राजधानी भएपछि इटहरीले के पाउँछ भन्दै प्रश्न गर्न थालेका छन् ।
विराटनगर, धनकुटा लगायतका शहरहरूले स्थायी राजधानीको लागि आफूलाई अब्बल साबित गरिरहेका छन् । इटहरीले प्रदेश १ कै सुरक्षित र केन्द्रमा पर्ने भन्दै राजधानी दाबी गरिरहेको छ । जसको लागि नमुना मत सर्वेक्षणदेखि प्रदेश नेताहरूलाई इटहरी निषेध सम्मका कार्यक्रम अगाडि सारेको छ ।

यही वर्षभित्र राजधानी टुङ्गो लाग्ने गरी प्रदेश सरकारले गृहकार्य गरिरहेको बुझेका इटहरीका अगुवाहरूले राजधानीको मागलाई तीव्रता दिएका छन् । तर इटहरीकै युवाहरूमाझ प्रदेश राजधानी हुँदैमा केही पनि विकास नहुने तर्क पनि शुरु भएको छ ।
६ महिना अगाडि नै नागरिक समाज इटहरीको पहलमा ‘राजधानी सरोकार समाज’ गठन भयो । इटहरीका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा बनेको समितिले विभिन्न दबाबको कार्यक्रम पनि ग¥यो । प्राध्यापक उमानाथ रिजालको संयोजकत्वमा ६ सदस्यीय राजधानी अध्ययन समिति बन्यो । जसले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ । इटहरीलाई राजधानी बनाउने आधारसहितको प्रतिवेदन सो समितिले तयार पारेको हो ।

पूर्वको उदाउँदो व्यापारिक नगर, शिक्षाको केन्द्र, सुरक्षा, यातायातको सुगमता, पर्याप्त जग्गा, कोशी र मेची करिडोरलाई समेट्न सक्ने, सम्पूर्ण प्रदेशवासीलाई सहज आवागमन हुने तर्क सो प्रतिवेदनमा उल्लेख गरिएका छन् ।
इटहरीसँग सरोकार राख्ने विभिन्न क्षेत्रका अगुवाहरू प्रदेशदेखि केन्द्रस्तरका नेताहरूसँग डेलिगेसन गइसकेका छन् । तर पनि इटहरी राजधानी बन्ने बारे कुनै सङ्केत देखा परेको छैन । त्यससँगै न्यूनतम पूर्वाधार पनि नभएको र भएका पूर्वाधार पनि उपयोग गर्न नसक्ने इटहरीले राजधानी धान्न नसक्ने तर्कहरू पनि शुरु भएका छन् ।

इटहरीकै युवा पुष्कर थापा इटहरी लगायतका शहरहरू राजधानीको लागि उपयुक्त नहुने तर्क गर्छन् । विराटनगर, इटहरी, धरानलगायत पहिल्यै बनिसकेका शहरमा राजधानी बनाएर शहरमा भीड थप्ने काम गर्न नहुने उनी सुझाउँछन् । सुनसरीकै चतरा अथवा पहाडी जिल्लामा राजधानी उपयुक्त हुने उनको भनाइ छ । तराईका जिल्लाहरूमा मानव बस्ती बढ्दै जाने र कालान्तरमा तराईमा मरुभूमिकरण हुने खतरा भएकाले यसलाई रोक्न पनि पहाडी जिल्लामा राजधानी हुनुपर्ने उनको बुझाइ छ ।

यस्तै, तर्क छ युवा अभियन्ता दिव्यराज गुरुङको पनि । इटहरीलाई प्रदेशको राजधानीभन्दा पनि व्यवस्थित व्यापारिक शहर बनाउन ध्यान दिनुपर्ने उनको बुझाइ छ । राजधानीको विषय र व्यवस्थित शहरको विषय फरक भएकाले अव्यवस्थित राजधानीभन्दा व्यवस्थित शहर नै इटहरीवासीको रोजाइ भएको उनी बताउँछन् ।

व्यवसायी राधेश्याम पौडेल पनि इटहरी बनिसकेको शहर भएकाले नयाँ संरचनाको शहर बनाउनका लागि अन्य विकल्प सोच्नुपर्ने तर्क गर्छन् । इटहरीकै आसपासमा धेरै खाली स्थान भएकाले पर्याप्त विकल्प रहेको भन्दै तिनै विकल्पको उपयोग गर्न सक्नुपर्ने उनको बुझाइ छ । झुम्कादेखि चतरासम्मको भूभाग त्यसको विकल्प हुन सक्ने उनी बताउँछन् ।

अर्का युवा सेमन्त कोइराला इटहरीलाई थप सङ्कुचित र अस्तव्यस्त बनाउने भए मात्र राजधानी राख्नुपर्ने तर्क गर्छन् । ‘इटहरी शैक्षिक केन्द्र हो । व्यापारिक, खेलकुद केन्द्र पनि हो अब हरेक केन्द्रलाई एकै ठाउँमा थुपारेर विकेन्द्रीकरण भन्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यसैले विकास नपुगेको स्थानमा विकास पु¥याउनको लागि पर्यावरणमैत्री स्थानमात्र राजधानी बन्न उपयुक्त मानिन्छ ।’
नेकपाका इटहरीकै युवा नेता होमनाथ धमला इटहरीले एउटा शहर बन्नको लागि आवश्यक पूर्वाधार तयार पार्न नसकिरहेको अवस्थामा राजधानीको गफ गर्नु बकवास भएको बताउँछन् । सार्वजनिक शौचालयदेखि फोहोरमैला व्यवस्थापन गर्न नसक्ने इटहरीले राजधानी ल्याएर जनतामा भय पैदा गर्ने काम गर्न नहुने उनको सुझाव छ । केह व्यक्तिको स्वार्थको अधारमा भन्दा पनि भविष्यलाई मध्यनजर गर्दै राजधानीको बारेमा सोच्नुपर्ने उनको बुझाइ छ ।

इटहरीमा नमुना मतदान
उता, इटहरीका अभियन्ताहरूले भने इटहरी राजधानी बन्नुपर्ने माग गर्दै नमुना मतदान सर्वेक्षण समेत गरेका छन् । केही नागरिक अगुवा र राजनीतिकर्मीको उपस्थितिमा सम्पन्न मतदानमा ८ सय मत खसेको बताइएको छ । जहाँ ९४ प्रतिशत मत इटहरीको पक्षमा खसेको थियो ।

तर उक्त सर्भेक्षण चुनावी स्टन्ड भएको आरोप लाग्न थालेको छ । इटहरी–२ का युवा टङ्क दाहाल इटहरीको बारेमा मत सर्वेक्षण गर्दा धनकुटा, बिर्तामोड, विराटनगर लगायतका जनतालाई सोध्नुपर्ने बताउँछन् । ‘इटहरीमै मत सर्वेक्षण गरेर इटहरीकै पक्षमा बहुमत आयो भन्नु भनेको कुनै दलका समर्थकबीच आन्तरिक चुनाव गरेर संसदमा निर्वाचित भयो भन्नु जस्तै हुनु हो,’ उनले भने, ‘कसैको सनकको आधारमा भन्दा पनि वृहत अध्ययन र अनुसन्धानको आधारमा यस्ता विषयको टुङ्गो लगाउनुपर्छ ।’