इटहरीः इटहरी उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन हात्तीको देखाउने दाँत जस्तो भएको छ । फोहोरमैला व्यवस्थापन गर्ने भनेर वार्षिक लाखौ खर्चिने उपमहानगरले त्यसबाट एक रुपैयाँ पनि आम्दानी गर्न सकेको छैन ।
फोहोरलाई मोहोर बनाउने विश्वव्यापी अभियान चलिरहेको बेला इटहरीमा भने त्यसैको लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता देखा परेको छ । कतिपय अवस्थामा फोहोरमै राजनीतिको गन्ध मिसिने गरेको छ । नागरिक समाज र राजनीतिक दलहरु फोहोरमैला व्यवस्थापनको विषयमा सचेत जस्ता देखिए पनि त्यसको लागि आवाज उठाएको देखिँदैन ।
यसअघि फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको इन्भारो केयर कन्सर्न प्रालिले झारा टार्ने काम गरेर बिदा भयो । सम्झौतामा उल्लेख भए बमोजिम काम नगरी कम्पनीले म्याद गुजारेको थियो ।
५ वर्षको लागि सम्झौता गरेको कम्पनीले बारम्बार हड्ताल गरेर वातावरण तहसनहस बनइरह्यो । २०७० साल मङ्सिरदेखि २०७३ असारसम्म मासिक ३ लाख र ०७३ साउन देखि ०७५ असोजसम्म ५ लाख ९० हजार रुपैयाँका दरले उक्त कम्पनीले पैसा लिने गरेको थियो ।
त्यस हिसाबले २ करोड ४६ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । ०७५ असोजदेखि हालसम्म वेस्ट म्यानेजमेन्ट प्रालिले १२ लाख रुपैयाँ नगरपालिकाबाट बुझिसकेको छ । अर्थात् फोहोरमैला व्यवस्थापनकै लागि भनेर ५ वर्षमा नगरपालिकाको २ करोड ५८ लाख ४० हजार नगद खर्च भएको छ । सोही बमोजिमको रकम ५ वर्षसम्म उपमहानगरले उपलब्ध गराउने गरी सम्झौता भएको छ । जसबाट उपमहानगरले एक रुपैयाँ पनि आम्दानी गर्न सकेन ।
त्यसका अलावा फोहोर बोक्ने गाडीको मर्मत सम्भार लगायत राजनीतिक दलसँगको समन्वयमा पनि लाखौँ खर्च भएको छ । ५ वर्षको अवधिमा ३ करोड हाराहारीमा खर्च गरेको उपमहागनरले अझैसम्म पनि फोहोरमैला व्यवस्थापनको लागि ठोस काम गर्न सकेको छैन ।
वेस्ट म्यानेजमेन्ट प्रालिले वैकल्पिक उर्जा प्रवर्दन केन्द्रसँग समन्वय गरेर फोहोरमैला व्यवस्थापन गर्ने जनाएको छ । विश्व बैंकको सहयोगमा काम गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताइएको छ । पहिलेको कम्पनी (इन्भारो केयर कन्सर्न प्रालि)ले बनाएको प्रतिवेदन काम नलाग्ने भएपछि वेस्ट म्यानेजमेन्ट प्रालिले समय थपको लागि केन्द्रलाई पत्राचार गरेको थियो ।
त्यसैअनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले इटहरी उपमहानगरपालिकालाई पत्र काटेको छ । ०७५ मङ्सिर १४ गतेको पत्रमा समय थपको लागि निवेदन गरेको हो । इटहरी उपमहानगरपालिका तथा लगानीकर्ता वेस्ट म्यानेजमेन्ट प्रालि र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीचमा भएको त्रिपक्षीय सहमति अनुसार ०७५ पुस १५ गते परियोजना सम्पन्न भइसक्ने उल्लेख गरिएको छ । ०७५ बैशाख १४ गते भएको सम्झौताअनुसार समयमा नै काम सम्पन्न नहुने भएकाले पत्राचार गरिएको केन्द्रले उल्लेख गरेको छ ।
लगानीकर्ता वेस्ट म्यानेजमेन्ट प्रालिले गत कात्तिक १४ गते नै केन्द्रलाई पत्राचार गरेको थियो । जहाँ पहिलेको कम्पनी इन्भारो केयर कन्सर्न प्रालिले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) परिमार्जन गर्नुपर्ने भएकाले समय लाग्ने बताएको थियो । हाल लगानीकर्ता कम्पनीले परिमार्जित प्रतिवेदन विश्व बैक र केन्द्रलाई पठाइसकेको बताइएको छ ।
कम्पनीले केन्द्रलाई समय थपको लागि गरेको निवेदनको आधारमा ०७६ असार मसान्त सम्मको लागि समय थप गर्न निवेदन गरेको छ । तर कार्यपालिकाको बैठक बस्न ढिलाइ भएका कारण समय थप गर्ने विषयमा अलमल भइरहेको छ ।
परियोजनाबारे अझै अन्योल
वेस्ट म्यानेजमेन्ट प्रालिले कामको जिम्मा लिएको भए पनि लगानीकर्ताको अभावमा काम अझै अन्योल देखिएको छ । विश्व बैंकको ४० प्रतिशत र कम्पनीको ६० प्रतिशत लगानीमा परियोजना सम्पन्न हुने भएको छ ।
तर कम्पनीले ६० प्रतिशत लगानी जुटाउन नसक्दा काममा ढिलाइ भइरहेको छ । कम्पनीका अध्यक्ष मानध्वज मोक्तानका अनुसार तत्कालै किन्नुपर्ने १२ करोड मुल्य बाराबरको मेसिन किन्ने पैसा पठाउन सकिएको छैन । पहिलाका लगानीकर्ताले लगानी गर्न नमानेका कारण यो अवस्था आएको उनको भनाइ छ ।
१९ करोड १८ लाखको परीयोजनाको लागि कम्पनीले ६० प्रतिशत अर्थात् ११ करोड ५० लाख ८० हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । तत्कालै लगानी फिर्ता नहुने र ५ वर्षपछि मात्र नाफा आउन सक्ने भएकाले लगानीकर्ता झस्किएको उनी बताउँछन् ।
यसपटक पनि लगानीकर्ताले लगानीको इच्छा देखाएनन् भने परियोजनाबाट हात झिक्नुको विकल्प नरहेको मोक्तान बताउँछन् ।