इटहरी: मोरङको सुन्दरहरैँचा–५ फोक्ल्याण्ड टापुका बासिन्दाले अहिलेसम्म जनप्रतिनिधि आफ्नो गाउँमा नआएको गुनासो गरेका छन् । चुनाव प्रचारको समयमा एकपटक आएर खोला नियन्त्रण गर्ने वाचा गरेका नेताहरू अहिले फर्किएर नआएको उनीहरूको भनाइ छ ।
मोरङ र सुनसरीको सिमानमा पर्ने सो बस्तीका बासिन्दाको सबैभन्दा ठूलो समस्या नै बाढीपहिरो हुने गरेको छ । विभिन्न महामारीबाट समेत बारम्बार समस्यामा पर्दै आएका उनीहरू आफ्नो आडभरोसा नै नभएको बताउँछन् । सुनसरी र मोरङको सिमानामा रहेको बुढी खोलाको बाढीका कारण उनीहरू त्रासमा हुने गर्छन् । बर्खाको मौसम शुरु भएसँगै आफूहरूमा त्रास बढ्ने उनीहरू सुनाउँछन् ।
आफूहरूलाई जनप्रतिनिधिले उपेक्षा गरेको स्थानीय साराङ राईले बताए । गरीब जनताको घरमा सरकार नपुगेको उनको गुनासो छ । २०७२ सालमा आएको बाढीले बगाएर ल्याएको बाँसले बारेर आफूले घर बनाएको र त्यसैमा गुजारा गर्ने गरेको उनी सुनाउँछन् । ‘छोराहरू रोजगारको खोजीमा इटहरीतिर त जान्छन् तर सीप नभएपछि खाली हात फर्किन्छन्,’ उनी भन्छन्, ‘जेनतेन पेट त पाल्नैप¥यो ।’ त्यही भएर उनी बाढीले बगाएका दाउरा चिरेर इटहरी बेच्न ल्याउँछिन् । करिब २ घण्टाको पैदल दुरीमा इटहरी पुग्ने उनले बताए ।
एक भारी दाउराको ३ सय आउँछ । कहिलेकाहीँ त्यो पनि बिक्दैन र २ सयमै छाडेर हिँड्नुपर्ने उनले बताए । त्यसैको भरमा घरमा मरमसला सागसब्जी लाने गरेको राई बताउँछन् ।
बाढीले खेतबारी बगर बनाएपछि उब्जनी केही नभएर यो विकल्प रोजेको उनको भनाइ छ । सरकारले बाढीपीडितलाई राहत दिने भनेको सुनेको तर अहिलेसम्म राहत लिएर कोही नआएको उनको गुनासो छ ।
सरकारले बाढीपीडितलाई १० हजार उपलब्ध गराउने निर्णय गरेको थियो । बाढी आएको ३ वर्ष पुग्नै लाग्दा पनि जनप्रतिनिधिहरूले वास्ता नगरेको उनको बुझाइ छ ।
सोही ठाउँका कमल लिम्बू उमेरले ६० हाराहारीका छन् । उनी पनि दाउरा बेच्नलाई इटहरी आउँछन् । प्रायः २ दिनमा उनको यो दैनिकी दोहोरिइरहन्छ । ‘पहिला खेती थियो अहिले बगर भयो । अब त्यही बगरमा जे छ त्यही बेचेर खानुपर्ने भयो’, लिम्बू भन्छन् ।
गोमा राईको समस्या पनि उस्तै छ । राहतको नाममा एक पोका नुन, एक केजी चामल र एक पोका सोयाबिनभन्दा केही नपाएको उनी बताउँछिन् । ‘छोराछोरी पाल्न समस्या भइसक्यो । स्कुल पनि पठाउनै मुस्किल छ । कतिखेर बाढीले आएर बगाउने हो टुङ्गो छैन’, उनी भन्छिन् ।
३ वटा खोलाको सङ्गम रहेको फोकल्याण्ड टापुमा बर्सेनी बाढीको समस्या देखा पर्छ । कहिले वन्यजन्तुको त्रास हुन्छ कहिले बाढीको । त्रासकै जीवन बाँचिरहेका छन् फोकल्याण्डबासीहरू । बुढी, सेरा र लाटी खोलाको बाढीका कारण बारम्बार समस्या भोग्नुपरेको उनीहरू सुनाउँछन् । यस्तो समस्या हुँदा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ ।
तटबन्ध बनाएर समस्या समाधान गरिदिने वचन दिएका राजनीतिक दलका नेताहरू चुनावपछि अहिलेसम्म एक पटक पनि नपुगेको उनीहरू बताउँछन् ।