धरान/ वर्षाैंदेखि सरकारी छाप तथा दस्तखत कीर्ते गरी नागरिकता तथा विभिन्न शैक्षिक प्रमाणपत्र तयार गरेर कमाउ धन्दा चलाइरहेको गिरोह प्रहरीको फन्दामा परेको छ ।
धरान–१२, महेन्द्र पथस्थित मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार थोप्रा लिम्बूसहित वीरध्वज लिम्बू, सरोज योङहाङ र रामकुमार सेवालाई प्रहरीको विशेष टोलीले बिहीबार राति पक्राउ गरेको हो । उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष ब्युरो, संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको विशेष अप्रेसन टोलीले प्रमाणसहित पक्राउ गरेको हो ।
थोप्राले मिकबाट वर्षाैंदेखि यस्तो काम गरिरहे पनि प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध बनाएर कानुनी कारबाहीबाट सधैँ बच्दै आएका थिए । उनले खास गरी ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय सेनामा भर्ती लाग्न चाहने युवाहरूको नक्कली ‘डकुमेन्ट’ तयार गर्ने गरेका थिए ।
प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो राम सेवालाई धरान उपमहानगरपालिका कार्यालयबाट कागजपत्रसहित नियन्त्रणमा लिएको थियो । अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरेपछि साँझ मिक कम्प्युटरको कार्यालयमा छापा मारेको थियो । त्यहाँबाट ठूलो मात्रामा नक्कली सरकारी छाप तथा दस्तखतहरू फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।
‘राती ३ घण्टासम्म मिकको कार्यालयमा सर्च ग¥यौं, त्यसपछि सिल गरिदिएका छौं,’ डिएसपी तिम्सिनाले भने, ‘प्रारम्भिक बयानमा छौं, विस्तृत अनुसन्धान भएपछि थप जानकारी गराउँछौं ।’
पक्राउ परेकाहरूलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मिकको कार्यालयमा छापा पारेर नेपाली नागरिकता प्रमाणपत्रको खाली कार्ड ७ थान, उच्च मावि शिक्षा परिषद, त्रिभुवन विश्वविद्यालय र यातायात व्यवस्था कार्यालयको होलोग्राम (स्टिकर) हरू ५८ थान बरामद गरेको छ ।
यस्तै, विभिन्न व्यक्तिका नक्कली नागरिकताका प्रमाणपत्रहरू ८ थान, विभिन्न जिल्लाका गाविस कार्यालयहरूबाट जारी भएका प्रमाणपत्रहरू ४ थान, उच्च मावि शिक्षा परिषद र त्रिभुवन विश्वविद्यालयका प्रमाणपत्रहरू ४ थान पनि बरामद भएको डिएसपी तिम्सिनाले जानकारी दिए ।
यस्तै, विभिन्न सरकारी कार्यालय, विद्यालय, व्यक्तिगत, दर्जागत, कार्यालयका पदाधिकारीहरूको छाप २ सय २७ थान, विभिन्न प्रमाणपत्र प्रिन्ट गर्ने कागजजात ३ रिम पनि प्रहरीले छापा मारेर बरामद गरेको छ । त्यस्तै, ३ थान सिपियु, २ थान प्रिन्टर, १ थान मनिटर, किबोर्ड र माउस पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । होलोग्राम (स्टिकर) सक्कली भए÷नभएको र कुन कार्यालयको प्रयोग भइरहेको हो भन्नेबारेमा पनि आवश्यक अनुसन्धान गरिने डिएसपी तिम्सिनाले बताए ।
छापहरू स्थानीय पञ्जिकाधिकारी, विद्यालयका प्रअ, शाखा अधिकृत, प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारीदेखि प्रहरी कार्यालयसम्मको भेटिएको छ । ‘स्टिकर सक्कली हो होइन भनेर अनुसन्धान हुन्छ, कुन कार्यालयको हो भनेर पनि अनुसन्धानको दायरामा आउँछ,’ उनले भने । बरामद भएको सिपियु केन्द्रीय प्रयोगशालामा पठाउने उनले बताए ।
प्रहरीका अनुसार मिकमा नक्कली डकुमेन्टको कारोबार चल्ने गरेको सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइले लामो समयअघिबाट विशेष निगरानी गरिरहेको थियो । त्यस क्रममा प्रहरी आफैँ डकुमेन्ट बनाउन गिरोहको सम्पर्कमा पुगेको थियो ।
एक सातादेखि भने प्रहरीले योजनाबद्ध तरिकाले विशेष अप्रेशनको तयारी गरेको थियो । डिएसपी तिम्सिनाका अनुसार पक्राउ परेकामध्ये सेवाले आवश्यक डिल गरेर सरकारी कार्यालयहरूमा पनि सेटिङ गर्ने काम गरेका थिए ।