बेलबारीः बेलबारी–७ की गंगा श्रेष्ठको घरमा ४ वर्ष अगाडि २ वटा बाख्रा थिए । बढ भएको खानेकुरा खेर नजाओस् भनेर उनले बाख्रा पाल्दै आएकी श्रेष्ठको खोरमा २ वर्षमा ४२ वटा भन्दा बढी बाख्रा भएका छन् ।

श्रेष्ठले जग्गा भाडामा लिएर नै अहिले व्यावसायिक बाख्रा पालन गरिरहेकी छिन् । स्थानीय बाख्राका साथै जमुनापारीको क्रस र बोयरको क्रस लगायतका अन्य जातका बाख्रा उनको खोरमा छन् । बजारमा दिनप्रतिदिन मासुको माग बढिरहेकाले बाख्रा पालनमा भविष्य देखेर व्यावसायिक बाख्रा पालन गरेको उनले बताइन् ।
परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्षसमेत रहेकी श्रेष्ठले हेफर नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग २५ हजार रुपैयाँ लिएर उपहार कोषमार्फत् व्यावसायिक बाख्रा पालेकी थिइन् ।

संस्थासँग लिएको ऋण फिर्ता गरेको र अहिले १४ वटा बाख्राको बीमा गरेरै पाल्न थालेको उनले बताइन् । १० कठ्ठामा डाले घाँस लगाएकी उनी आफँै उत्पादन गरेको मकैको दाना र पिठो खुवाउने गरेको बताउँछिन् ।

उनले बाख्राका पाठापाठी तौलेर बेच्ने गरेको सुनाइन् । २ सय ५० रुपैयाँदेखि ६ सय रुपैयाँ प्रतिकिलो बेच्ने गरेको श्रेष्ठले बताइन् । उनले लोकल पाठापाठी २ सय ५० रुपैयाँ प्रति केजी र उन्नत जातका पाठापाठी ६ सय रुपैयाँ प्रतिकेजीसम्मा बेच्ने गरेको बताइन् ।
१४ वटा माउ बाख्रा मगाएको र ती बाख्रा यही महिनामा आइपुग्ने उनी सुनाउँछिन् । बैशाखसम्ममा १ सय वटा बाख्रा पाल्ने लक्ष्य लिएको पनि उनले बताइन् ।

कुखुरा पनि पाल्दै
उनले बाख्रा मात्रै होइन व्यावसायिक रूपमा ब्रोइलर कुखुरा पनि पाल्ने गरेकी छिन् । २ वटा खोरमा १ हजार कुखुरा पालेको उनले सुनाइन् । वर्षमा ४ पटक चल्ला लगाउँदा १ लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् ।