फिदिमः अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।
अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने किसानको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् ।
राम्रो मूल्य प्राप्त गर्ने आशमा गत वर्षको अलैँची समेत गोदाममा राखेको किसानको भनाइ छ । रोगकीरा नियन्त्रण, औषधि, सिँचाइ, गोडमेललगायत कार्यमा ठूलो धनराशी खर्च हुँदा अलैँची उत्पादन समेत महङ्गो भएको चेम्जोङ बताउँछन् ।
पाँचथरका च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी, सिदिन, प्राङबुङ, मेमेङ, लुङरुपा, रानीटार, फिदिम, फाक्तेप, आङसराङ, रवि, कुरुम्बालगायत स्थानमा अलैँचीको खेती हुने गर्दछ । यहाँका अधिकांश किसानले रामसाई, डम्बरसाई र गोलसाई प्रजातिको अलैँची खेती गर्ने गर्दछन् ।
अलैँची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि किसानमा चरम निराशा छाएको अलैँची व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताए । उनका अनुसार किसानमा छाएको निराशाले व्यवसायीमा समेत प्रभाव पारेको छ । भारत, भुटानलगायतका मुलुकमा अलैँची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैँचीले उचित मूल्य पाउन छाडेको व्यवसायी नेपालले बताए ।
भारतमा नोटबन्दी हुनु तथा क्रयशक्ति कमजोर हुनुले समेत अलैँचीको मूल्य घट्दै गएको नेपालको ठम्याइ छ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैँचीजस्तै नक्कली अलैँची देखा परेपछि नेपाली अलैँचीको मूल्यमा भारी गिरावट आउन थालेको बताइएको छ ।
चीन, भियतनाम, लाओसलगायत देशमा उत्पादित अलैँचीजस्तै देखिने अलैँचीको तुलनामा अत्यन्तै कम मूल्यमा पाइने वस्तुले अन्तर्राष्ट्रिय बजारमा पकड जमाउँदै गएपछि नेपाली अलैँची किसान मारमा परेको अलैँची ब्यवसायी बताउँछन् । नेपालबाट निकासी भएको ९५ प्रतिशत अलैँची भारतीय बजार हुँदै खाडी, युरोप तथा अन्य मुलुकसम्म पुग्छ । उनका अनुसार भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भनेपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको छ ।
पूर्वी पहाडको अलैँंची अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने व्यवसायी झापाको बिर्तामोडमा छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालयसमेत बिर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची बिर्तामोडमा सङ्कलन भएर विदेश निर्यात हुने गर्छ । पहाडी जिल्लामा उत्पादन भएको अलैँची बिर्तामोडको बजारसम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर कम मूल्य निर्धारण गर्ने गरिएको किसानको भनाइ छ । नेपालको अलैँचीको गुणस्तर तथा अन्तर्राष्ट्रिय मूल्यबारे स्थानीय व्यवसायी र कृषक जानकार नहुँदा समस्या आएको बताइएको छ ।