तस्विर सौजन्य : प्रदेश प्रमुखको कार्यालय
विराटनगरः साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई प्रदेश सरकारको तर्फबाट सम्मान र बिदाइ गरिएको छ । विराटनगरको शहीद रङ्गशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतसँग ३–१ गोलले पराजित भई नेपाल उपविजेता बनेको हो ।
नेपाली राष्ट्रिय टोलीलाई प्रदेश १ सरकारका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले शनिबार एक समारोहबीच सम्मान गरेका हुन् । प्रदेश प्रमुखको कोशी प्रोजेक्टस्थित सरकारी निवासमा आयोजित कार्यक्रममा तुम्बाहाङले खेलाडी र पदाधिकारीलाई सम्मान गरे । उनले भने, ‘प्रदेशको अस्थायी राजधानीमा यस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुनु गर्वको विषय हो । तपाईं खेलाडीहरूले गर्नुभएको प्रदर्शन र मेहनत पनि प्रशंसायोग्य देखियो ।’ तुम्बाहाङले आउँदा दिनमा नेपाली टोलीको प्रदर्शन अझ उत्कृष्ट हुने आफूले विश्वास लिएको बताए ।
नेपाल फइनलमा पुगेर पनि चौथोपटक उपाधि पाउनबाट वञ्चित भएको हो । तुम्बाहाङले खेलको नियम नै हारजीत हुने भएकाले निराश नबन्न आग्रह गर्दै नेपालले विभिन्न खेलमा अन्तर्राष्ट्रिय रूपमा आफूलाई खरो उतार्दै लैजानु सकारात्मक भएको बताए । उनले अखिल नेपाल फुटबल सङ्घलाई प्रदेशमा अझ धेरै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन पनि आग्रह गरे ।