विराटनगरः प्रदेश १ का धेरै ठाउँमा भएका आगलागीमा परी बिचल्लीमा परेका परिवारलाई राहत सहयोग गर्न सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रदेशसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदले आगलागीका घटना दिनानुदिन बढेकोले यसको न्यूनीकरण र पीडितलाई सहयोग गर्न भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।

आइतबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उदयपुरकी नेकपा सांसद अम्बिका थापाले रौतामाई नगरपालिका वडा नम्बर २ मा भीक्षण आगलागीमा परी बिचल्लीमा परेका परिवारलाई कम्तीमा जनही एक लाख रुपैयाँका दरले सहयोग गर्न सरकारको ध्यानाकर्षण गरिन् । भनिन्,‘‘आगलागीबाट पशुचौपायासमेत गुमाएका स्थानीयको अवस्था निकै दयनीय छ । समस्यामा परेकाहरूलाई सरकारले सहयोग गरोस् ।’’ सुख्खायाममा आगलागी भयावह समस्याको रूपमा आउने गरेको बताइन ।

सङ्घीय समाजवादीका सांसद जयराम यादवले स्थानीय तहहरूमा वरुण यन्त्रको उचित व्यवस्थापन गर्दै तयारी अवस्थामा राख्नुपर्ने बताउँदै भने,‘‘बारुण यन्त्र तयारी अवस्थामा राखे आगलागीबाट हुने ठुलो क्षतिलाई घटाउन मद्दत मिल्न सक्छ ।’’ यादवले आगलागीबाट हुने क्षति घटानउ जनचेतनामुलक कार्यक्रम गर्न पनि जरुरी भएको बताए ।

यसअघिको प्रदेशसभा बैठकमा समेत सांसदहरूले प्रदेशमा आगलागीको समस्या निकै बढ्नु चिन्ताको विषय भएको भन्दै पीडितलाई सहयोग गर्न सांसदले ध्यानाकर्षषण गरेका थिए । सांसद आशा रत्न जबेगुले हिलिहाङ गाउँपालिकामा आगलागीमा परी छ घर जलेर नष्ट भएको र स्थानीय पीडित भएको भन्दै सरकारलाई सहयोग गर्न माग गरेकी थिइन ।

इलामकी सांसद खिनुलम्बा लिम्बूले इलामको माइपोखरी क्षेत्रमा भएको आगलागीमा परी ४ घर परिवार पूर्ण रूपमा पीडित बनेको र सात परिवारको बिचल्ली भएको भन्दै सहयोग गर्न सरकारको ध्यानाकर्षण गरेकी थिइन । तत्कालीन राहत प्राप्त भए पनि उनीहरूको पुनर्स्थापनाको लागि सहयोग हुनुपर्ने उनको माग थियो ।

आइतबारको प्रदेशसभा बैठकमा काँग्रेसका सांसद लोकप्रसाद संग्रौलाले सुन्दरहरैंचाको सुकुना क्याम्पसका शिक्षकहरूले विद्यालयबाट समेत दोहोरो सुविधा लिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गर्दै यसलाई रोक्न माग गरे । शून्य समयमा राजकुमार ओझा र शिवनारायण गन्गाईले पनि बोलेका थिए ।