धरानः धरानमा खानेपानीको चरम अभाव शुरु भएको छ । नेपाल खानेपानी संस्थान र धरान खानेपानी विकास बोर्डको द्वन्द्वका कारण यस वर्ष पनि धरानवासीले खानेपानी नपाउने लगभग निश्चित जस्तै भएको छ ।धरानका विभिन्न वडामा खानेपानी माग्दै आन्दोलन पनि शुरु भएको छ । नेपाल खानेपानी संस्थान र धरान उपमहानगरपालिकाप्रति सर्वसाधारणले विरोधका टिप्पणी गर्न थालेका छन् ।
केही दिनअघि धरान–१६ का सुदीप यल्मोले फेसबुकमा पोष्ट्याए, पर्खी बसें आउला भनी, थोपो चुँदैन पानी धारामा ।’ धरान–१६ का डिल्ली फोम्बोले सहमत जनाए । त्यसपछि आचार्य सीतारामले कमेन्ट गर्दै भने, ‘अब धारा रूँगेर बस्नु हुँदैन सर । पानी खुवाउन बसेको खानेपानी संस्थानले कि पानी खुवाउनुपर्छ होइन भने पानी खुवाउँछु भन्नेलाई पानी खुवाउन दिनुपर्छ सर । अब चुप लागेर बस्ने बेला छैन । धराने जनता जाग्ने बेला भयो ।’
अहिले जताततै पानी अभावमै जीवन बिताउन बाध्य छन् धराने । सुख्खा मौसमसँगै खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या पनि बढेको हो । खानेपानी संस्थानले बिहान र बेलुका मिलाउँदै पानी वितरण गर्दै आएको छ । ठूला घरानियाले मिटरबाट छतमा भएको ट्याङ्कीमा पानी चढाउने गरेका कारण सामान्यको घरमा समस्या झनै थपिएको छ ।
धरान–१६ की गृहिणी विष्णु लिम्बूले छिमेकीको घर ठूलाठूला भएकाले गर्दा उनीहरूले पानी मिटरबाट छतको ट्याङ्कीमा पानि चढाएपछि आफ्नो घरमा पानी नआउने र आउँदा पनि सानो आउने गरेकाले हैरान भएको बताइन् ।
उनले आफूहरूले पानीको समस्याले गर्दा खान मात्र होइन, जीवनयापनका अन्य सामान्य विषयमा समेत समस्या परेको बताइन् । धरानको पानीको स्रोत मानिएको सर्दू, खर्दू र तामाखाम जलाधार क्षेत्रमा सुख्खा मौसमसँगै पानीको स्रोत सुक्नु र तराहराको जङ्गलबाट बोरिङ गरेर ल्याउने पानीले नपुग्ने कारणले धरानमा पानीको हाहाकार बढ्दै जाने गरेको हो । धरानमा पानी नआउँदा र ट्याङ्करले समेत पानी समयमै नल्याइदिँदा सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ ।
ट्याङ्करमा पानी कहिले आउला भन्ने पर्खाइमा बसेकाबीच ढिलै भए पनि पानी आउँदा पानी थाप्नेको होडबाजी नै चल्ने गरेको छ । पानीको अभावसँगै सर्वसाधारण धरानदेखि ३ किलोमिटर पूर्वमा रहेको गौधारा, ५ किलोमिटरमा रहेको खत्रीधारार तीनकुनेस्थित विश्वकर्मा मन्दिर छेउको धाराबाट पानी ल्याएर खाने गर्छन् ।
ती स्थानमा समेत लामो खडेरीले पानीको स्रोत सुकेको र अझ समस्या थपिँदै गएको छ । वर्षेनी घर निर्माणसँगै धारा जडानमा समेत वृद्धि हँुदै गएको छ । पानीको स्रोत भने बढाउन नसिकएकैले प्रत्येक वर्ष खानेपानीको अभाव चुलिँदै गएको हो ।
खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठ सुख्खा मौसमसँगै खानेपानीको मूल सुक्न थालेपछि उपभोक्ताको माग बमोजिम खानेपानी वितरण गर्न नसकेको बताउँछन् । ‘सुख्खा मौसममा जहिल्यै यस्तो हुन्छ भन्ने त सबैलाई थाहा छ नि’, धरान–१२ स्थित घरघरमा पानीको समस्या बुझ्दै बिहानै निस्किएका उनले भने, ‘अहिले पनि सुख्खा मौसम भएर नै यो हालत भएको हो ।’
धरानमा एशियाली विकास बैंक (एडिबी) को २२ मिलियन डलर अर्थात करिब सवा २ अर्ब बराबरको एकीकृत शहरी विकास आयोजनाअन्तर्गत खानेपानी परियोजना सञ्चालित छ ।
एडीबीका कन्सल्टेन्ट अनिल नेपाल धरानका वडा नम्बर ५, ६, ७, ८, ९, १०, १२, १३, १४ र १८ मा संस्थानको अफिसबाटै पानी वितरण गरिँदै आएको र १६, १७ र ११ मा एडीबीको परियोजनाको पानी वितरण भइरहेको बताउँछन् । ‘धराने जनताले एडीबीको पानी खाने भनेर १५ हजार रुपैयाँ तिरिराखेका छन् । यसरी रकम जम्मा गर्नेको पनि गुनासो बढ्दो छ नि’ भन्ने प्रश्नमा उनले ३ महिनाभित्रमा पानी खुवाएरै छोड्ने दाबी गरे । उनले धरान उपमहानगरपालिकाको बोर्डमा सो रकम जम्मा भइरहेको बताउँदै एडीबीको पानी चाहिँदैन भनेर सर्वोच्चमा मुद्दा परेको पनि बताए ।
‘क्याबिनेटको विरूद्धमा जनसरोकार मञ्चको मुद्दा सर्वोच्चमा परेको छ, १५–२० दिनमा अदालतले डिसिजन दिन्छ, फैसला हुन्छ र ३ महिनाभित्रमा पानी खुवाएरै छोड्छौं, ३ महिनापछि धरानेले पानी खान्छन्,’ उनले भने । एडीबीले धरानमा १० हजार नयाँ धारा जडान गर्ने लक्ष्य लिएको जनाएको छ । आयोजना प्रमुख राजु पोख्रेल भने खानेपानीको बारेमा अहिले केही भन्न नसक्ने अवस्था रहेको बताउँछन् ।