इटहरीः पश्चिम खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतको मनपरीको खुलासानेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष राउतले वडा कार्यालयमा विनियोजित नेपाल सरकारको अनुदान रकम ऐन, नीति, नियम र कार्यविधिविपरीत खर्च गरी निर्माण उपभोक्ता समिति गठन, योजना कार्यान्वयन, शिक्षक नियुक्ति, सञ्चालन, अनुदान, खर्च र खानीजन्य वस्तुको निकासीजस्ता विषयमा चरम अनियमितता गरेको भन्दै उजुरी परेको छ ।
कानुनका रक्षक नेपाल आमाका सन्तानको नाममा हालिएको सामुहिक उजुरीमा उजुरीकर्ताहरूले वडाध्यक्षको मनपरीका विषयमा उजुरी गरेका हुन् । नगरपालिकाको विधान मस्यौदा समितिका संयोजक भएर आफँै अवैधानिक काम गरेको तथा जनप्रतिनिधि भएर जनविरोधी काम भएको भन्दै राउतको विरोधमा उजुरी परेको हो ।
यस्ता छन् अख्तियारको सामुहिक उजुरीमा लेखिएका हलेसी तुवाचुङ नगरपालिकाका राउतले गरेका ८ फट्याइँहरूः
१. वडाध्यक्ष राउत कानुनी मस्यौदा संयोजक छन् । तर, उनी आफँै कानुनको खिल्ली उडाउँछन् । यसको उदाहरण हो शिक्षिका रेनुका बस्नेतको नियुक्ति । बस्नेतले भर्खरै एसईई परीक्षा मात्रै दिएकी थिइन् । उनको शिक्षक लाइसेन्स त परै जाओस्, नागरिकता सम्म थिएन । उमेर पनि १८ वर्ष पूरा भएको थिएन ।
तर, यी सबै कुरालाई बेवास्ता गर्दै वडाध्यक्षले बस्नेतलाई नियुक्ति गरे । २०७५ बैशाख ७ गते वडा कार्यालयमार्फत् हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–६ स्थित मङ्गलटारको पीपलडाँडा देवीस्थान माविमा उनले नियुक्ति गरेका हुन् । नियुक्ति गर्दा मौखिक परीक्षा मात्रै लिएका वडाध्यक्षले योग्य उम्मेद्वार सुगा बिकलाई फालेर बस्नेतलाई गैरकानुनी नियुक्ति गरेका हुन् । उनले गैरकानुनी नियुक्ति मात्रै गरेनन् २०७५ साउनमा उनै बस्नेतसँग विवाह समेत गरेका छन् । उनले २०७५ साउनमै उनै बस्नेतसँग गैरकानुनी रूपमा १७ वर्ष पूरा नभइकन विवाह गरे ।
२. आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारको कटहरबोटेमा यातायात र माछापालन उद्देश्यको कटहरबोटे आहाल निर्माण आयोजनामा रु. १ लाख ८० हजार बजेट विनियोजन भएको थियो । उक्त योजना सञ्चालनको लागि विचारी राउतको अध्यक्षतामा सचिव डाकबहादुर राउतको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन पनि भएको थियो । तर, समितिमा भ्रष्टाचारको गन्ध आएपछि सचिव डाकबहादुर राउतले अनियमितताको आवाज उठाए । यसरी आवाज उठाउने सचिव डाकबहादुरलाइ निकाल्दै राउतले चित्रबहादुर बस्नेतलाई सचिव बनाए । र, आफ्नो तरिकाले मनपरी योजनाको फरफारक गरे ।
३. आर्थिक वर्ष २०७४÷७५ मै रावु खोला छत्तिवन सिँचाइ योजनामा एमकुमार आलेको अध्यक्षतामा समिति गठन गरी सम्झौता भयो । ५ लाख रकम विनियोजन पनि भयो । तर, काम भएको छैन ।
४. वडाको पीपलडाँडा देवीस्थान माविको असहमतिका बाबजुद वडाध्यक्ष राउतले जबरजस्त एउटा कोठा लिए । कोठामा आफू काठमाडांैबाट आउँदा साथीहरूसँग सङ्कलन गरेर ल्याएका पुस्तकहरू सङ्कलन गरे । आफ्नो वडाबाट समेत बजेट विनियोजन गरी पुस्तक खरीद गर्ने बजेट लिए । तर, न पुस्तक खरीद भएका छन् । न त पुस्तकालय सञ्चालनमा छ । बन्द कोठामा राखिएको पुस्तकालयको चाबी आफैँ राखेर वार्षिक बजेटमात्रै निकासा गरिरहेका छन् वडाध्यक्ष राउत ।
५. आर्थिक वर्ष २०७४÷७५ मै मंगलटारस्तरीय खेलकुद व्यवस्थापन शीर्षकमा १ लाख रकम बजेट विनियोजन गरे । रङ्गबहादुर बस्नेतको अध्यक्षतामा समिति गठन पनि गरे । काम भने केही भएको छैन । यसरी कामै नगरी योजना फरफारक गरेका छन् अध्यक्ष राउतले ।
६. कार्यालयको आर्थिक वर्ष २०७४÷२०७५ मा सञ्चालन अनुदानतर्फ बजेट सिलिङ नगरी मनोमानी रूपमा पेट्रोल तथा बाइक मर्मत, अन्य भ्रमण भत्ता कार्यालय मसलन्द, चिया नास्ता लगायतका शीर्षकमा रु. ११ लाख अनियमित रूपमा खर्च गरेका छन् राउतले ।
७. बैठकमा उपस्थित नभएका पदाधिकारीहरूलाई समेत बैठक भत्ता प्रदान गरेका छन् । र, उपस्थित पदाधिकारीहरूको असहमतिको बाबजुद पनि खर्च अनुमोदन गरी कर्मचारीहरूलाई वशमा पारी निर्णय लेखाइ अध्यक्ष, सचिव र कार्यालय सहयोगीलाई मात्र बैठक बन्द गराएका छन् राउतले ।
८. हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारमा पर्ने दूधकोशी नदीको बहाव क्षेत्र पहरेबेसीबाट बालुवा, गिटी निकासीमा आफ्नो अनुकूलको व्यक्तिलाइ खटाएका छन राउतले । प्रति ट्याक्टर रु. ७ सय कर उठाउँछन् । तर, आम्दानीको हिसाबकिताब सार्वजनिक नगरी, गुपचुप राखी मनोमानी ढङ्गले लाखौँ रकम दुरुपयोग गरिरहेका छन् ।
बालविवाह पनि
राउतले बालविवाह गरेको समेत खुलासा भएको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको उजुरीमा यस्तो कुराको खुलासा भएको हो । वडामा भएका विभिन्न भ्रष्टाचारको विषयमा परेको उजुरीमा बालविवाहको कुरा पनि समेटिएपछि यस्तो कुराको खुलासा भएको हो ।
२०५८ साल चैत २७ गते जन्म भएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले बाल विवाह गरेका हुन् । स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा २०५९ चैत १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको प्रवेश परीक्षापत्रमा समेत २०५८ चैत २७ गतेकै जन्ममिति देखिएको छ ।
मुलुकी देवानी संहिता २०७४ अनुसार गैरकानुनी हुने गरी २० वर्षभन्दा कम उमेरकी बालिकालाई राउतले मागी विवाह गरेका हुन् । उनले २०७५ साउनमा विवाह गरेका थिए । विवाहको गरेको समयमा बालिकाको उमेर १७ वर्ष पनि पुगेको देखिँदैन । १६ वर्ष ४ महिना हाराहारी मात्रै उमेर पुगेको अवस्थामा बालिकालाई वडाध्यक्ष राउतले विवाह गरेका हुन् । नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत रहेका वडाध्यक्ष राउतले आफैँ कानुनको खिल्ली उडाउँदै बाल विवाह गरेका हुन् ।
यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारवाही
नेपालमा २०७५ भदौ १ गतेबाट नयाँ कानुन बनेको छ । ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ सोही दिनबाट लागू भएको हो । संसद्ले साउन २६ गते पारित गरेको संहिता भदौ १ बाट लागू भएको हो । राणा प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत् १९१० मा बनाएको ‘मुलुकी ऐन’ प्रतिस्थापन गरेर बनेको नयाँ मुलुकी संहिताले बाल विवाह गैर कानुनी मानेको छ ।
नयाँ मुलुकीसंहिता अनुसार विवाहको उमेर २० वर्ष तोकेको छ । मुलुकी ऐन लागु भएको समयमा विवाह गर्दा महिलालाई १८ वर्ष र पुरुषलाई २० वर्षको न्यूनतम उमेर हुँदा विवाह गर्न पाउने व्यवस्था थियो । र, कानुन नमान्नेलाई कारवाहीको व्यवस्था थियो । तर, नयाँ मुलुकी संहिताले भने विवाह नै बदरसम्मको अधिकार राखेको बताउँछन् यही कानुन निर्माणमा सक्रिय भएका पूर्व सांसद रेवतीरमण भण्डारी ।
भण्डारीका अनुसार अहिले २० वर्षभन्दा कम उमेरमा बिहे गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ ।
यस्तैगरी, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७२ को उपदफा ३ (ख) बमोजिम बालविवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउनेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्मको कैद सजाय रहेको छ ।
बालविवाह नै भएको हो भने कारवाही हुन्छः मेयर राई
हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आफूलाई वडा नम्बर ६ का अध्यक्ष रमेशकुमार राउतले बाल विवाह गरेको बारेमा कुनै जानकारी नआएको बताए । ‘मलाई बालविवाह भएको बारेमा कुनै लिखित वा मौखिक जानकारी आएको छैन’, मेयर राईले भने, ‘यदि बाल विवाह नै भएको हो भने स्थानीय सरकारले गर्न सक्ने कारवाही गर्ने छौँ ।’