इटहरीः पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको ४ दिनमै झण्डै ४ करोड राजस्व सङ्कलन भएको छ ।
विभिन्न हिमाल आरोहणका लागि ३ करोड ९० लाख ९ हजार २ सय ९७ रुपैयाँ राजस्व उठेको विभागको पर्वतारोहण शाखाले जनाएको छ । शाखाका रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथाबाट ३ करोड ५३ लाख रुपैयाँ राजस्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु ३ करोड ८७ लाख राजस्व उठेको छ ।
वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म ९ वटा समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमाथासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महिनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ ।
सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ वटा आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ८ आरोही दल गएका थिए ।
सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रोयल्टी जम्मा भएको थियो । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ रुपैयाँ रोयल्टी उठेको थियो । सरकारले आरोहणका लागि ४ सय १४ हिमाल खुला गरेको छ ।