इटहरी/ एकातिर अव्यवस्थित पार्किङ, अर्कोतिर जथाभावी सडक अतिक्रमण । अनि, त्यसैमा ट्राफिक नियमको चरम उल्लङ्घन ।
यी र यस्तै समस्याले इटहरीको सडक सुरक्षाका विषयमा धेरै गुनासाहरू आउँछन् । यी सबै सम्बोधन गर्न हालै इटहरी स्थानीय सरकारले बनाएको एक विज्ञ समूहको प्रतिवेदनले यसका समाधानका सूत्रहरू दिएको छ ।
इटहरीको सडक सुरक्षा र व्यवस्थित इटहरीको लागि सडक क्षेत्रमा हुनुपर्ने सुधारका २० बुँदाहरू विज्ञ समूहले दिएको छ ।
गत साउन ११ गते इटहरीको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतम नेतृत्वको १३ सदस्य समितिले विभिन्न सुझावहरू दिएको छ ।
समितिमा गौतमसहित प्रदेश १ का ट्राफिक प्रहरी निरीक्षक ढुण्डीराज गिरी, इलाका प्रहरी कार्यालयका निरीक्षक घनेन्द्र खजुम, इटहरी स्थानीय सरकारका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, उद्योग वाणिज्य संघ इटहरीका प्रतिनिधि विश्वराज धिमाल रहेका छन् ।
त्यस्तै, सफारी, अटो, म्याजिक भ्यान, ट्याक्सी र बसपार्क व्यवस्थापन समितिका पदाधिकारीहरू तथा यातायात व्यवसायी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरू सहभागी थिए । सर्वक्षीय विज्ञ समूहले हालसालै बुझाएको सडक सुधार प्रतिवेदनले दिएका २० सुझावहरू यस्ता छन् ः
१. पूर्व–पश्चिम व्यस्त राजमार्ग अन्तर्गत इहटरी क्षेत्रमा पर्ने बुढी खोलादेखि रामधुनी नगरपालिकाको सीमासम्मको ७ किलोमिटर क्षेत्रमा सडक सङ्केत, ट्राफिक चिह्न र जेब्रा क्रसिङ निर्माण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
२. सबै काउन्टरहरूलाई बसपार्क भित्रै राख्नुपर्ने र इटहरीको सडकमा गुडेका सबै यात्रुवाहक सवारीहरू बसपार्क अनिवार्य प्रवेश गर्नुपर्ने ।
३. स्थानीय सडक, प्रादेशिक सडक र राष्ट्रिय सडकका सबै अतिक्रमण र अवरोधहरू हटाउने ।
४. सडकमा छाडिएका चौपाया व्यवस्थापन गर्नलाई कान्जी हाउसको निर्माण गर्ने ।
५. सडक क्षेत्रमा लाग्ने सबै हाटबजारलाई सडकबाट अन्यत्र कतै व्यवस्थित स्थानमा सार्ने ।
६. नगरका सबै व्यस्त र भीडभाड हुने क्षेत्रहरूमा आकाशे पुलहरू निर्माण गर्ने ।
७. नगरभरिका सबै व्यस्त चोकहरूमा सिसी क्यामेरा र ट्राफिक लाइट जडान गर्ने ।
८. मुख्य सडक र भित्री सडकहरूका निर्माण सामग्री, फुटपाथ पसल, फलफूल पसल वा ठेला वा अन्य अवरोधहरू हटाउने ।
९. नगरभित्रका सबै सडकको फोहोरको सहज विसर्जनको लागि ठाउँठाउँमा डस्बिनको व्यवस्था गर्ने ।
१०. बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ३ बजेदेखि ८ बजेसम्म ट्याक्टर, ट्रक र ट्रिपर इटहरी क्षेत्रभित्र प्रवेश गर्न नदिने ।
११. ट्रान्सपोर्ट सेवाका लोडिङ र अनलोडिङ गर्नलाई बेलुका ६ बजेदेखि बिहान ८ बजेसम्म मात्रै अनुमति दिने ।
१२. नगरभित्रका सबै पार्किङ र स्ट्याण्डहरूमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, ट्राफिक चिह्न र डिभाइडर आदिको व्यवस्था गर्ने ।
१३. इटहरी प्रवेश गर्ने चारैतर्फका बाटोहरूमा सिसी क्यामेरा जडान गर्ने र सोको सञ्चालन इलाका प्रहरी इटहरी र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई दिनुपर्ने ।
१४. इटहरीमा पार्किङ व्यवस्थित गर्न एक उपयुक्त स्थान खोजेर दीर्घकालीन व्यवस्था गर्ने ।
१५. इटहरीका विद्युतीय रिक्सा र अटोहरूको भाडादर कायम गरेर सबैले देख्नेगरी सार्वजनिक रूपमा राख्नुपर्ने ।
१६ं. विद्युतीय रिक्सा र अटोको सञ्चालनको लागि अनुमति दिँदा विस्तृत अध्ययन गरेर मात्रै दिने ।
१७. नगरमा विद्युतीय रिक्सा र अटोको व्यवस्थापन र नियमनको लागि एक स्थायी व्यवस्थापन समिति बनाउने । त्यसको लागि स्थानीय सरकारले कानुन बनाउने ।
१८. ट्राफिक सूचना र जनचेतनाको लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
१९. विराटनगर लाइनमा रहेको नबिल बैंक अगाडिको प्रहरी बिटलाई अन्तै सार्ने ।
२०. इटहरीको व्यस्त बजार क्षेत्रमा पार्किङ शुल्क प्रति घन्टाको दरले र अन्य क्षेत्रमा दैनिक दरले सशुल्क पार्किङको व्यवस्थापन गर्ने ।