खोटाङः दिनभर जनताका काममा व्यस्त रहने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाल बिहान ४ बजे नै उठ्छन् ।
वि.सं २०३६ देखि विद्यार्थी राजनीतिबाट मूलधारको राजनीति शुरु गरेका ढकाल उठ्ने बित्तिकै बाख्रालाई खोले पकाउन व्यस्त हुन्छन् ।
तीन÷चार भाँडा खोले पकाएर फार्मभरि रहेको खसीबाख्रालाई दिइसकेपछि डोको, नाम्लो र हँसिया लिएर घाँस काट्न निस्कन्छन् । बिहान ९ बजेसम्म वडाध्यक्ष ढकालको समय बाख्रा फार्म र करेसाबारीमै बित्छ । जब ९ बज्छ उनी हातखुट्टा धोएर खाना खाएर वडा कार्यालय जान्छन् ।
वडाध्यक्ष ढकालले आफ्नै लगानीमा उन्नत जातको बाख्रा पाल्नुका साथै केरा तथा कटहरको व्यावसायिक खेती गरेका छन् । वि.सं २०७२ मा २५ वटा बाख्रा किनेर शुरु भएको बाख्रा फार्ममा अहिले ९५ खसीबाख्रा छन् । कालिका बाख्रा फार्म दर्ता गरेर बाख्रापालन शुरु गरेका ढकाललाई उनकी श्रीमती एलकुमारीले पूरै सहयोग गरेकी छिन् । तीन जना छोराकी आमा एलकुमारी दिनभर बाख्रा चराउन तथा घाँस काट्न व्यस्त हुन्छिन् ।
बिहानबेलुका घरधन्दामा व्यस्त रहने एलकुमारीलाई श्रीमान् वीरेन्द्रले बिदाको दिन दिउँसो पनि काम सघाउँछन् । अध्ययनरत ३ छोरा वरुण, नरेन्द्र र राजकुमार पनि बिदाको समयमा बुबाआमालाई सघाउँछन् ।
बाख्रा फार्म तथा केरा र कटहर खेतीबाट आएको आम्दानीले ३ छोराको पढाइ, घरखर्च र सामाजिक कामका लागि गरिने खर्च कटाएर वार्षिक ५ लाखभन्दा बढी बचत हुने गरेको वडाध्यक्ष ढकाल बताउँछन् ।
‘समाज सेवा गर्ने व्यक्ति पहिले आफू सक्षम हुनुपर्छ’, उनले भने, ‘त्यही भएर व्यवसायबाट आएको आम्दानी घरखर्च कटाएर समाज परिवर्तन गर्नकै लागि खर्च गर्दै आएको छु ।’
वडाध्यक्ष ढकालले श्रीमती एलकुमारीकै नाममा कालिका बाख्रा फार्म दर्ता गरेर खरी र जमुनापारी क्रस जातका बाख्रा पालेका छन् । वर्षाको समयमा घरबारीकै घाँसले पुग्ने खसीबाख्रालाई ढकाल परिवारले हिउँदमा भने स्थानीय सामुदायिक वनमा चराउने र जङ्गलको घाँस खुवाउने गरेका छन् ।
ढकाल दम्पत्तिको बाख्रा फार्मसँगै १० रोपनी जग्गामा केरा बगान र ३ रोपनी जग्गामा रुखकटहर तथा भुइँकटहर लगाइएको छ । फार्ममा उत्पादन भएका खसीबाख्रा र केरा तथा कटहर वडा नं १४ बुइपास्थित पञ्चेदोबाटो बजार र वडा नं १ दिक्तेलस्थित हाटडाँडामा लाग्ने हटियामा खपत हुने गरेको छ ।
ढकाल दम्पत्तिले फलसँगै भुइँकटहरको बेर्नासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् । कमलपित्त तथा निमोनियाका बिरामीलाई औषधि हुने भुइँकटहर वडाभरि बिस्तार गर्ने तयारी गरेको वडाध्यक्ष ढकालले बताए । पछिल्लो समय ढकाल दम्पत्तिको आम्दानी देखेर छिमेकीले पनि व्यावसायिक रूपमा केरा तथा कटहर खेती शुरु गरेका छन् । कृषिका लागि उर्वरभूमि मानिने विजयखर्कमा नगरपालिकाले यस वर्ष केरा पकेट क्षेत्र बनाउने लक्ष्यका साथ ६ हजार बिरुवा रोपेको छ ।
विजयखर्कमा केरासँगै सुन्तला, लिची, आँप, अम्बा, निबुवा, कागतीलगायत सबै प्रकारका फलफूल उत्पादन हुन्छ । अन्नबालीतर्फ धान, मकै, कोदो, गहुँ, फापर, जुनेलोलगायत अत्यधिक फल्ने गरेको छ ।