विराटचोकः शिक्षकले दोहोरो सुविधा लिएको विरोधमा नेपाली काङ्ग्रेसले निकालेको विरोध र्यालीको फोटो खिच्ने क्रममा एक सञ्चारकर्मी कुटिएका छन् ।

काङ्ग्रेसले विराटचोकबाट निकालेको र्याली क्याम्पसतिर गइरहेका बेला फोटो खिच्दा काङ्ग्रेसकै समर्थकले कुटपिट गरेको निकेश बरालले बताए । कुटपिटबाट उनको हात, पेट तथा छातीमा चोट लागेको छ । उनको उपचार स्थानीय मेडिकलमा भइरहेको छ ।

मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति होमनाथ पोख्रेल नेतृत्वको टिमले आफूलाई हातपात गरेको उनले बताएका छन् । उज्यालो प्रदेश अनलाइनका लागि फोटो खिच्न गएको समयमा ‘तँ अखिलको नेता होस्’ भन्दै एक्कासी आफूमाथि कुटपिट गरेको उनले आरोप लगाएका छन् । क्याम्पसमा भएको आन्दोलनको कार्यक्रमको समाचार सङ्कलन गर्न गएको बेला उनी कुटिएको उज्यालो प्रदेशका सम्पादक भक्तशेर लिम्बूले बताए ।

यता क्षेत्रीय सभापति पोख्रेलले भने आफूले कुटपिट नगरेको बताएका छन् । ‘तिमी अखिलको कार्यकर्ता हौ फोटो नखिच भनेर सम्झाएको पठाएको थिएँ’, पोख्रेलले भने, नटेरेपछि साथीहरूले ठेलेका रहेछन् ।’ उनले सामान्य ठेलठाल मात्रै भएको बताए ।

सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना मावि र क्याम्पसमा कार्यरत १३ जना शिक्षकले लिइरहेको दोहोरो सुविधा खारेज गर्न नेवि सङ्घले माग गर्दै आएको छ । आज नेवि सङ्घ र महिला सङ्घले क्याम्पस गेटमा धर्ना दिएर कोणसभा गरेका छन् । उनीहरूले दोहोरो शैक्षिक सुविधा खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

andolan 2