इटहरीः केही समय अगाडिसम्म कोशी आसपासका जनताहरू हात्ती र अर्नासँग पौंठेजोरी खेल्दै आफ्नो सुरक्षा गर्दै आएका थिए । स्थानीयसँग पौंठेजोरी गर्न केही हप्ता अगाडिदेखि भने कोशी टप्पुमा नयाँ अर्को जनावर थपिएको छ ।

स्थानीय बासिन्दाहरूलाई आक्रमण गर्ने वा स्थानीयहरूले पौंठेजोरी गर्ने जङ्गली जनावरको केही समय अगाडिको ‘लिस्टमा’ हात्ती र अर्ना मात्र थियो । तर अहिले आक्रमणबाट बच्ने जनावरको लिस्टमा चितुवा पनि थपिएको छ । पछिल्लो एक महिनामा हात्ती र अर्नासँगै आक्रमण गर्ने सूचीमा सबैभन्दा तेज गतिको कमन लियोपार्ड अर्थात् चितुवा पनि थपिएको हो ।

पहिलेदेखि नै लिस्टमा भएको हात्ती र अर्नालाई तह लगाउने आइडिया स्थानीय बालकहरूलाई पनि थाहा छ । तर हात्ती र अर्नाको आक्रमणको सामना गर्दै आएका कोशी टप्पुका स्थानीयहरू अहिले आरक्षको नयाँ जनावर चितुवासँग भने कसरी आत्मरक्षा गर्ने भन्ने चिन्तामा छन् ।
‘हात्ती या अर्ना आउँदा पटका पड्काएर, टिन ठटाएर, टायर बालेर वा आगो बाल्दै भगाउने गर्दथे । तर एक्कासी कोशी टप्पुमा देखिएको चितुवाको आनीबानीबारे स्थानीयहरू अनभिज्ञ छन् । स्थानीय आशिष राईले भने, ‘अजङ्गको हात्ती त खेदाएकै हो तर यो नयाँ देखिएको चितुवालाई कसरी खेदाउने आइडिया भएन ।’

शुक्रबार मात्र कोशी टप्पुबाट निस्किएको चितुवाले प्रकाशपुर राजावासमा ४ जनालाई आक्रमण गरेको थियो । आक्रमणको खबर पाएर नियन्त्रणको प्रयासमा गएकी आरक्षकी रेञ्जर लक्ष्मी राईलाई पनि चितुवाले आक्रमण गरेको थियो ।

केही समय अगाडि कोशी टप्पुमा चितुवा आएपछि नयाँ जनावर थपिएकोमा खुशी भएका स्थानीयमा अहिले भने पीडा थपिएको छ । आफ्नो ठाउँमा आएर चितुवाले आक्रमण गरेपछि आत्मरक्षा कसरी गर्ने भनेर स्थानीय चिन्तित भएका हुन् । आरक्ष आसपास बस्ने अधिकांश स्थानीय अहिले चितुवाको आक्रमणबाट कसरी ज्यान जोगाउने भन्ने ध्याउन्नमा देखिन्छन् ।

‘अर्ना र हात्तीबाट जोगिने आइडिया त छ । तह पनि लगाउँदै आएको पनि हो तर अहिलेको टाउको दुखाइ चितुवा बन्यो । हाम्रो अघिल्लो पुस्ताले पनि सामना नगरेको चितुवाको आनीबानी केही थाहा छैन’ राईले भने, ‘अर्ना र हात्तीले त मान्छेलाई खानको लागि आक्रमण गर्दैन तर यस (चितुवा)ले त सोझै मान्छेलाई नै ताक्दो रहेछ त्यसैले यसलाई अन्य निकुञ्जतिर सार्दा ठीक हुन्छ ।’

गत फागुन १ गते कञ्चनरूप नगरपालिकाको वडा नम्बर १० बदगामामा स्थानीयहरूलाई आक्रमण गरेसँगै कोशी टप्पुमा चितुवा रहेको पत्ता लागेको थियो । टप्पुमा बिरालो प्रजातिका साना किसिमका जनावर देखिँदै आए तापनि चितुवा भने देखिएको थिएन ।

अधिकांश भाग सिमसारले समेत ओगटेको आरक्षमा बिरालो प्रजातिको देखिने माछा खाने मलाहा बिरालो (फिसिङ क्याट) मात्र पाइने गरेको थियो । निकै वर्ष पहिले मात्र पाटे बाघलगायतका अन्य ठूला मांसाहारी जनावर भएको प्रमाणित भए पनि पछिल्ला पुस्ताहरूले भने कोशी टप्पुमा चितुवा भेटेका थिएनन् ।

बदगामामा स्थानीय ५ जना फिलामा आक्रमण गरेको चितुवालाई पुनः जङ्गलमै छाडिएको थियो । जङ्गलमा छाडिएसँगै पुनः चितुवाले कोशी टप्पु आरक्षको छेउमा रहेको प्रकाशपुरमा ३ ओटा बाख्राहरू मारेको थियो ।
आरक्षमा चितुवा पाइएको समाचार बाहिर आएसँगै स्थानीयहरू चितुवाको आक्रमणमा पनि पर्दै आएका छन् । आरक्षमा केही समय अगाडि मात्र फेला परेको चितुवाले अहिले निरन्तर स्थानीयलाई आक्रमण गर्न थालेको छ ।