उर्लावारीः प्रधानमन्त्री केपी शर्मा ओलीले कामले मुलुक समृद्ध बन्ने बताएका छन् । त्यसका लागि लगानी सम्मेलनले उत्साह जगाएको भन्दै अब अर्को नवीन कार्य गर्न लागेको उर्लाबारीको मङ्गलवारेमा जानकारी दिएका हुन् ।

मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले लगानी सम्मेलनबाट देश बनाउन पैसाको अभाव नहुने र त्यसका लागि आइडिया चाहिएको बताए । सोही आइडिया ल्याउने गरी विश्वभर रहेका खोज–अनुसन्धान क्षेत्रका विज्ञहरूको टिमले नेपाल सुहाउँदो नवीन विचार दिने दाबी गरे ।
‘लगानी सम्मेलनले पैसा भित्र्याउँछ, युवा सम्मेलनले आइडिया उनले भने– ‘अनि नेपाल बनेन त ?’

देश मदन भण्डारीको विचारबाट चलेको छ
यो देश मदन भण्डारीका विचारबाट चलेको बताएका छन् । आज उर्लाबारीको मङ्गलवारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले भण्डारीका वैज्ञानिक विचार आजको युग सुहाउँदो रहेको भन्दै देशको शासन प्रणाली उनकै विचार र सिद्धान्तको आधारमा चलेको बताएका हुन् ।

‘भण्डारीले नेतृत्व गरेको आन्दोलनले अन्ततः संस्थागत हुने अवसर पाएको छ ।’उनले भने – ‘हामीले आन्दोलनको मर्म र भावनालाई आत्मसाथ गर्दै देश विकास गर्नुको विकल्प छैन ।’ ओलीले देशमा सुशासन र विकास हुनुपर्ने भण्डारीकै विचार रहेको तर्क गर्दै उनका विचारको आधारमा मुलुक कले समृद्धिको बाटो तय गरेको स्पष्ट पारे ।

भण्डारीको असाधारण र दूरगामी सोचको पुष्टि आफूले नभई स्वतन्त्र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेको भन्दै उनी शताब्दीलाई नै प्रभावित पार्ने व्यक्ति भएको तर्क गरे । ‘अब मुलुकले नयाँ बाटो पाएको छ, अघि बढ्ने बारे भण्डारीका सोचहरू पथप्रदर्शक बनेका छन् ।’ ओलीले भने ।
त्यस्तै उनले सरकारले मदन भण्डारी विश्व विद्यालय खोल्ने तयारी गरेको समेत जानकारी दिए । मदनका वैज्ञानिक विचारलाई संस्थागत माध्यमद्धारा समाज रूपान्तरणमा लगाउनु आवश्यक रहेको भन्दै उक्त विश्व विद्यालयले एक हजार बढी विद्यार्थीलाई प्राविधिक ज्ञान दिने र मुलुक बनाउने काममा लगाउने बताए ।

काँग्रेसले भाग खोज्यो
उर्लाबारी जानु अघि ओलीले विराटनगर विमानस्थललेमा सञ्चारकर्मीसँग बोल्दै नेपाली काँग्रेसले भाग खोजेको बताए । विभिन्न संवैधानिक निकायमा काँग्रेसले भाग खोजेको जानकारी दिँदै अहिलेको सरकारले हाम्रो होइन, राम्रो मान्छे मात्र पठाउने भन्दै काँग्रेसलाई आशा नगर्न कटाक्ष पनि गरे । ‘यो भाग दिने र लिने विषय होइन, सरकारलाई विज्ञ जहाँ जहाँ आवश्यकता पर्छ, त्यहाँ त्यहाँ नियुक्त गर्दै जान्छ, काँग्रेसले विरोध गरेर केही हुँदैन ।’ उनले भने ।