इटहरीः नेपाली प्राविधिकले बनाएको पहिलो जेट बोटको सफल परीक्षण यही शनिबार साँझ ७ बजे सप्तकोशीमा भयो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले बनाएको जेटबोट निर्माणमा संस्थागत रूपमा सुन्दरहरंैचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जीडीएस फाइबर वल्र्डको समन्वय रहेको थियो ।
जेट बोट निर्माणमा ४ जना इन्जिनियर सक्रिय रहेका थिए । यसरी सक्रिय हुने मेकानिकल इन्जिनियर सुमन खत्री, लेखराज रिजाल, अभिषेक कार्की र रोहित रिजाल हुन् ।
सगरमाथाको उचाइको नाममा माउन्ट ८८४८ मिटर नाम दिइएको छ जेट बोटलाई । जेट बोटमा लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल ।’ यही वर्षको जेठ २२ गते दर्ता भएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन कम्पनीको जेट बोटको सिट क्षमता ३० जनाको छ ।
यो जेट बोट बनाउन ४ जना इन्जिनियरले ८ महिना काम गरेको बताए । भदौबाट शुरु भएको निर्माणले चैत पहिलो हप्तामा अन्तिम रुप पाएको हो ।
खत्री र कार्कीले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका हुन् भने रिजालद्वयले भने भारतबाट सोही विषय पढेका हुन् । यी चारै जना इन्जिनियरले पहिलो पटक आफू मेकानिकल इन्जिनियर भए पनि पानी र समुद्रसँग जोडिने मरिन इन्जिनियरिङका क्षेत्रमा काम गरेका छन् । उनीहरूले नेपालमा पहिलो पटक जेट बोट बनाएका छन् । साढे ३ टन तौल भएको जेट बोटले सोही बराबरको तौल बोक्ने इन्जिनियर सुमन खत्रीले बताए ।
खत्रीका अनुसार यो पहिलोपटक बनाएको जेट बोट भएकाले डेढ करोड हाराहारी लगानी लागेको तर धेरै परिमाणमा बनाउँदा सस्तो पर्ने बताए । ‘अहिले जे जति बन्यो सबै मान्छे म्यानुअल्ली गरेका हौँ । तर, उद्योगबाट व्यवस्थित उत्पादन हुँदा झनै सस्तो र सजिलो हुन्छ ।’ खत्रीका अनुसार सरकारले उद्योग स्थापना वा केही कर छुट गरेमा विदेशमा भन्दा आधा रकममा नेपालमा जेट बोट बन्न सक्छ ।
नेपालमा बनेको जेट बोट सप्तकोशी, गण्डकी र कर्णाली जस्ता नेपालका ठूला र गहिरा नदीमा चलाउन सकिने खत्रीले बताए । उनले भने, ‘६ देखि ८ फिट गहिरो पानीमा कुद्ने यो जेट बोट समुद्रमा र स्थिर पानीमा पनि सहजै कुद्न सक्छ ।’