झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली प्राकृतिक प्रकोपबाट भएको क्षतिको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ गएका छन् । घटनास्थल जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी उनले समवेदना र श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न आज १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत् प्रस्थान गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र ७ सय बढी घाइते भएको जानकारी आएको बताए । मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको जनाए । घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराइने उनले जानकारी दिए ।

o