ताप्लेजुङः ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा आगामी नयाँ वर्षदेखि नै केबलकार निर्माणको थालनी हुने भएको छ ।
पाथीभरा माता देवी दर्शन केवलकार प्रालिद्वारा आगामी २०७६ सालदेखि नै निर्माणको कार्य थालनी हुने भएको हो । पाथीभरामा केबलकार निर्माणका लागि पाथीभरा माता देवी दर्शन केबलकार प्रालि र त्रिवेणी केबलकार प्रालिले प्रतिस्पर्धा गरिरहेका थिए ।
निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणीले हात झिकेसँगै पाथीभरा माता देवी दर्शन केबलकार प्रालिलाई निर्माणको बाटो खुलेको हो ।
‘केही दिन अघि मात्रै दुई कम्पनीबीचको विवाद टुङ्गिएको छ, अब आउने नयाँ वर्षदेखि नै काम शुरु गर्ने तयारी छ’, पाथीभरा माता देवी दर्शन केबलकार प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले भने । त्रिवेणीका प्रबन्ध निर्देशक सुवास साङ्घाईले आफ्नो कम्पनी निर्माणका लागि नआउने जानकारी दिए ।
पछिल्लो पटक पाथीभरा माता देवी दर्शन केबलकार प्रालिविरुद्ध अदालतसम्म पुगेको त्रिवेणीले मुद्दा फिर्ता लिएर पाथीभरामा केबलकार निर्माणबाट अलग्गिएको हो । ‘धार्मिक क्षेत्रमा हुने केबलकार निर्माणको विषयलाई लिएर कति झगडा गरिरहनु भन्ने लाग्यो, हामीले केही दिन अघि नै मुद्दा फिर्ता लिएका हौँ’, त्रिवेणीका प्रबन्ध निर्देशक साङ्घाईले भने ।
गत जेठमा फुङलिङ नगरपालिकाको बैठकले पाथीभरा माता देवी दर्शन प्रालिलाई निर्माणका लागि अनुमति दिने निर्णय गरेको थियो । केबलकार अनुमतिसम्बन्धी कार्यविधि पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (६) बमोजिम अनुमति दिएको उल्लेख गरेको छ ।
सोही कार्यविधिका आधारमा नगरपालिकाले ११ लाख रुपैयाँ राजस्व समेत लिएको बताइएको छ । यस्तै, मन्त्री परिषदको बैठकले समेत पाथीभरा माता देवी दर्शन केबलकार प्रालिलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यिनै निर्णयका विरुद्ध त्रिवेणी अदालतसम्म पुगेको बताइएको छ । पाथीभरा माता देवी दर्शन केबलकार प्रालिले भालुगौँडेको पूर्वतर्फ पर्ने फुङलिङ नगरपालिका–११ साविकको फावाखोला गाविसलाई मात्रै छोएर निर्माणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावअनुसार ४ दशमलव ९७ हेक्टर क्षेत्रफल जमिन प्रयोग हुन्छ ।