धनकुटाः धनकुटाको शहीदभूमि र छथर जोरपाटी गाउँपालिका स्थापनाकालदेखि नै भाडाको घरबाट सञ्चालित छन् ।
गाउँपालिका केन्द्रको कार्यसञ्चालन भाडाको घरबाट भइरहे पनि गाउँपालिका मातहतका वडा कार्यालयहरू भने आफ्नै भवनबाट सञ्चालन भइरहेका छन् । जनप्रतिनिधिका कार्यकक्षसहित कार्यपालिका बैठक कक्ष, केन्द्रको प्रशासनिक र विषयगत कार्यालयहरूको कार्य सञ्चालन भाडाकै घरबाट भइरहेको छ । साँघुरा कोठाहरू भएको र कार्यालयमैत्री भवन नहुँदा कार्यसञ्चालन गर्न असहज भएको शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।
गाउँपालिकाको केन्द्र पिप्लेमा छ । पिप्लेमा रहेका २ वटा घरलाई भाडामा लिएर कार्यालय सञ्चालन भइरहेको छ । घरायसी प्रयोजनका लागि बनेका ती घरहरू कार्यालय मैत्री नहुँदा कार्यसम्पादनमा समस्या परेको उनले बताए ।
गाउँपालिकामा वटा वडा रहेका छन् । अधिकांश वडा साविक गाउँ विकास समितिको भवनबाट सञ्चालित छन् । भवन नभएका वडा कार्यालयको अहिले धमाधम भवन निर्माण भइरहेका छन् । गाउँपालिकाको वित्तीय समानीकरणको पूर्वाधार विकास कार्यक्रमका तर्फबाट ३ वटा वडा कार्यालयको भवन निर्माण कार्य धमाधम भइरहेको छ ।
२ नं. वडा कार्यालय साबिक छिन्ताङ गाउँ विकास समितिको कार्यालयबाट सञ्चालित छ । त्यस्तै ३ नं. वडा कार्यालयको भवन धमाधम निर्माण भइरहेको छ । वडा भवन निर्माणका लागि गाउँपालिकबाट १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोही बजेटबाट निर्माणाधीन भवनको एक तला ढलान भइसकेको छ । तत्कालको लागि सो वडाको कार्यसञ्चालन पञ्चकन्यास्थित शहीद स्मृति प्रतिष्ठानको भवनबाट भइरहेको छ । असार मसान्तसम्ममा भवन निर्माण भइसक्ने लक्ष्य राखिएको छ ।
यता, ४ नं. वडा कार्यालय पनि साबिक खोकु गाउँ विकास समितिको भवनबाट सञ्चालित छ । वडा नं. ५ को पनि भवन निर्माणाधीन अवस्थामा रहेका कारण अहिले भाडाको घरबाट सञ्चालनमा आएको छ ।
६ नं. वडा कार्यालयको आफ्नै भवन रहेको छ । साबिक आँखीसल्ला गाउँ विकास समितिको भवनमा वडा कार्यालय सञ्चालित छ । ७ नं. वडा कार्यालयको पनि आफ्नै भवन निर्माण भइरहेको छ । जसका कारण अहिले भाडाको घरमा भवन सञ्चालित छ ।
१ नं. वडा कार्यालयको कार्यालय कुन स्थानमा राख्ने भन्ने विवाद कायम रहेका कारण बजेट विनियोजन भएता पनि वडा कार्यालयको भवन निर्माण शुरु हुन सकेको छैन । गाउँपालिकाको जग्गा भएको स्थान खोकुको पिप्लेमा भवन निर्माणको लागि डिजाइन गरी इस्टिमेट समेत तयार भइसकेको अध्यक्ष राईको भनाइ छ । भवन निर्माणको लागि टेन्डरको तयारी गरिएको जनाइएको छ ।
यता, ६ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिका पनि स्थापना भएदेखि नै भाडाको घरबाट सञ्चालित छ । तर यहाँका पनि प्रायः सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालित छन् । गाउँपालिकाको लागि जग्गा प्राप्त भइसकेकाले अब निर्माणको कार्य शुरु गरिने अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।