विराटनगर: जन्मका आधारमा नागरिकता प्राप्त गरेका आमाबुबाका सन्तानलाई नागरिकता दिन गृहमन्त्रालयले परिपत्र गरेसँगै मोरङ पनि नागरिकता दिन थालिएको छ । मोरङ जिल्ला प्रशासनबाट बुधवार इशा चौधरी अग्रवालले पहिलो नागरिकता प्राप्त गरेकी छन् ।

विराटनगर– ७ निवासी विनय चौधरी अग्रवालकी छोरी इशालाई नागरिकता दिलाउन प्रक्रियागत रूपमा वडा अध्यक्ष मधुबाबु तिवारीले सिफारिस गरेका थिए । विनयले जन्मका आधारमा र उनकी श्रीमती पायल चौधरीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेकी थिइन् । अब छोरी इशाले भने नयाँ प्रावधानअनुसार वंशजका आधारमा नागरिकता प्राप्त गरेकी छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले १९ गतेको सरकारको निर्णयअनुसार नै वंशज नागरिकता दिइएको बताए । २०७० चैत २० बाट जन्मका आधारमा नागरिकता पाएका आमाबुवाको सन्तानलाई नागरिकता दिन रोकेर राखेको तर बाबुआमा नागरिक हुने छोराछोरी नहुने भन्ने विषयलाई हेरेर गृहमन्त्रालयको निर्णयअनुसार निर्देशन आएकोले सोही अनुसार नागरिकता दिइएको केसीले जानकारी दिए ।

आजै जिल्ला प्रशासनमा नागरिकता लिन आएका अन्यलाई भने प्रक्रिया मिलाउँदै जाने र क्रमशः दिने भन्दै फर्काएको थियो ।