ताप्लेजुङः कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर राताम्मे देखिने मनमोहक गुराँसका फूल, अनि तिनै गुराँस फुल्ने घना जङ्गलभित्र विभिन्न लेकाली चराको चिरबिर । आजभोलि गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले क्षेत्रमा पुग्दा यस्तै देख्न पाइन्छ । अरु समयमा आफूलाई हरियाली रूपमा देखाएर पर्यटकलाई स्वागत गर्ने गुराँसको राजधानीले बिस्तारै आफ्नो रूपलाई रङ्गीचङ्गी बनाउँदै लगिरहेको छ ।

ताप्लेजुङको साँघुदेखि सङ्खुवासभाको गुफापोखरी हुँदै वसन्तपुर सम्मका होटलहरू पाहुनाको स्वागत सत्कारका लागि आतुर जस्तै देखिन्छन् ।

गुफा पोखरीमा रहेका कतिपय होटलका आलमारी तोङ्वाले सजिएका छन् भने सुकुटीले अँगेनामाथिको भार र छुर्पीका मालाले प्रवेशद्वार ढाकिएका छन् । कतै भरिएका घिउका हर्पे पाहुनाका लागि तयारी अवस्थामा राखिएका छन् । त्यस क्षेत्रमा पुग्ने कतिपय पर्यटकले लोकल कोदोको तोङ्बा र सुकुटी खोज्ने भएकाले सकेसम्मको तयारी गरिएको छ ।

‘गुराँसको सिजनमा काठमाडौं, पोखरा, धरान, इटहरी लगायत सिक्किम र दार्जिलिङसम्मका बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भएकाले सकेसम्मको तयारी बेलैमा गर्नु पर्छ, ‘गुफापोखरी स्थित होटल याककी डोङ्गा शेर्पाले भनिन् । उक्त होटलको प्रवेशद्धार टुक्रयाइएका छुर्पीका मालाले ढाकिएको छ । पर्यटकलाई आकर्षित गर्नका लागि यसरी राखिएको उनले बताइन् ।

नजिकै रहेको होटल मकालुमा घिउले भरिएका हर्पे लहरै राखिएका छन् । होटल सञ्चालक हरिप्रसाद खनालले भने, ‘अब गुराँसको सिजन शुरु भयो, थामिनसक्नु मान्छेको घुँइचो लाग्छ, चाहिने सबै कुराको जोहो गरिसक्यौँ ।’ खनाल परिवारले पुस्तौँदेखि सो क्षेत्रमा पुग्ने पर्यटकलाई सेवा दिँदै आएको छ ।

यसरी गुराँस फुल्ने सिजन शुरु भएसँगै गुराँसको राजधानी मानिने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रले आफ्नो स्वरूपलाई फेर्दै लगेको छ भने यहाँका बासिन्दासमेत पाहुनाको स्वागत सत्कारका लागि आतुर छन् । यो वर्ष केही ढिलो गुराँस फुल्न शुरु भएको छ । चैत लाग्दैदेखि गुराँस फुल्ने भए पनि यस वर्ष चैत दोस्रो सातादेखि मात्रै गुराँस फुल्न थालेको हो ।

‘यो वर्ष निकै हिउँ परेर होला चिसोका कारण बेलैमा गुराँस फक्रिएन’, सङ्खुवासभाको मूलखर्ककी शिवमाया बुढाथोकीले भनिन्, ‘कतिपय बोटहरु फुलेर राताम्मे देखिए पनि धेरैजसो भर्खर फुल्ने अवस्थामा पुगेका छन् । तर पर्यटक भने गुराँस हेर्न भनेर आउन थालेका छन् ।

‘गुराँस फुलिसक्यो होला भनेर घुम्न आइयो तर फुलेको रहेनेछ । तैपनि गुराँसको राजधानीमा आएर घुम्नुको छुट्टै मज्जा हुने रहेछ, फेरि पनि आउनु पर्ला’, केही दिन अघि मात्रै सो क्षेत्रमा आएर फर्किएका कलाकार पारस मुकारुङले भने । उनी आधा दर्जन आन्तरिक पर्यटकसँगै सो क्षेत्रमा आएका थिए ।

नयाँ वर्षको शुरुवातीसँगै गुराँसको राजधानी राताम्मे हुने अनुमान स्थानीयको छ । तिनजुरे– मिल्के– जलजले क्षेत्रमा ३१ प्रजातिका गुराँस पाइन्छन् । एकै भूगोलमा गुराँसका विभिन्न ३१ प्रजातिको बाहुल्यता रहेकाले यस क्षेत्रलाई गुराँसको राजधानीको रूपमा लिने गरिएको हो ।

गुराँस १ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटर सम्मको उचाइमा पाइन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाथीभरा, ग्याब्ला, घुन्सा, ओलाङचुङगोला, चेराम, याङ्मालगायतका उच्च हिमाली भेगमा गुराँस पाइन्छ । यस्तै तिनजुरे–मिल्के–जलजले क्षेत्र पाँचथरको पौवा भञ्ज्याङ, जोरपोखरी, च्याङ्थापु, इलामको माईपोखरी, माइमझुवा लगायतका ठाउँमा समेत गुराँस पाइन्छ ।

तीनजुरे–मिल्के–जलजले क्षेत्रमा भने विश्व वन्यजन्तु कोष नेपालले गुराँस संरक्षणमा सघाउ पु¥याउँदै आएको छ ।

gurash 1 gurash 3