विराटनगर: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले विशेष महाधिवेशन नबोलाउने स्पष्ट पारेका छन् । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले, सभापतिविरुद्ध जिल्ला सभापति एकजुट हुने कुराले आफूलाई फरक नपर्ने भन्दै विशेष महाधिवेशन बोलाए त्यसको सामना गर्न तयार रहेको भन्दै ठाडो चुनौती दिएका हुन् ।
महाधिवेशनको सुझाव विपरीत सभापतिले एक्सन लिएको भन्दै ५१ जिल्लाका सभापतिले केन्द्रीय समितिको बैठकको निर्णय सच्याउन माग गरेका छन् । उनीहरू काठमाडौँमा भेला भई नेतृत्वविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । उनीहरूले विशेष महाधिवेशन बोलाएर भए पनि सभापति देउवाको कार्यशैली विरुद्ध अघि बढ्ने बताइरहँदा देउवाले भने सामना गर्न तयार रहेको अभियक्ति दिएका हुन् ।
फागुन १३ गतेको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको विधान परिवर्तन गरेको थियो । महासमिति बैठकको सुझावविपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्ने ५१ जिल्लाका सभापतिको जोडदार माग रहेको छ । ती सबै जिल्ला सभापति देउवा गुटका भने छैनन् ।
सरकारविरुद्ध आन्दोलन पनि हुन सक्छ
फरक प्रसङ्गमा देउवाले सरकारले एकलौटी काम गरेको भन्दै त्यसको विरोध गर्ने बताएका छन् । उनले आवश्यकता भए आन्दोलन नै गर्न तयार रहेको भन्दै संवैधानिक निकायको नियुक्ति लगायतमा काङ्ग्रेसको असहमति रहेको सङ्केत गरेका हुन् ।