विराटनगरः प्रदेश १ को संसदीय समितिको नेतृत्व चयन गर्न बिहीबार मनोनयन दर्ता भएको छ ।
समितिका सभापति निर्वाचित गर्न मनोनयन दर्ता भएको हो । समितिको निर्वाचन शुक्रबार हुनेछ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार सबै ७ समितिको सभापतिको लागि मनोनयन दर्ता भएको छ ।
७ वटामध्ये ४ वटा दलहरूबीच सभापतिका लागि सहमति भएसँगै पूर्व एमालेले ४, पूर्व एनेकपा माओवादीले २ र काङ्ग्रेसले एक समिति लिने सहमति भएअनुसार नै मनोनयन दर्ता भएको हो । जसअनुसार एमालेभित्र नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका तीन जना र माधव नेपाल समूहका एक जना परेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार मध्याह्न ढिलो गरी मात्र मनोनयन शुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत तथा संसद सचिवालयका सचिव अम्बिकाप्रसाद चौलागाईंले ७ वटै समितिको सभापति पदका लागि मनोनयन परेको बताए । न्याय, प्रशासन तथा विधायन समितिमा सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खड्का, सामाजिक विकास समितिमा सरिता थापा, उद्योग, पर्यटन तथा वातावरण समितिमा सीता थेबे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवाको नाम मनोनयनमा परेको छ । काङ्ग्रेस शिवनारायण गनगाईले सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गराएका छन् । सभापतिहरूको निर्वाचन भोलि हुनेछ ।
सभापतिमा मनोनयन दर्ता गराएकामध्ये पूर्व एमालेभित्र माधव नेपाल समूह निकट मानिने सरिता थापा मात्र छिन् । बाँकी ओली समूहका छन् । पूर्व माओवादीबाट मोहनकुमार खड्का र सीता थेबे छन् । काङ्ग्रेसले दुई समिति मागे पनि सहमति हुन नसकेपछि एउटैमा चित्त बुझाएको छ ।