सङ्खुवासभाः पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका किसान किबी खेतीमा आकर्षित भएका छन् । किबीले स्थानीय बजारमा राम्रो मूल्य पाएपछि किसानले खेती बिस्तार गरेका हुन् । जिल्लाको धर्मदेवी नगरपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका लगायतका स्थानमा किबी खेतीबाट किसानले मनग्य आम्दानी लिइरहेका छन् ।
केही समयअघिसम्म अलैँची खेती गर्ने किसानहरू विभिन्न रोग लागेर अलैँची नष्ट भएपछि किबी खेतीप्रति आकर्षित हुन थालेको धर्मदेवी–३ मझुवाका किसान मानबहादुर कार्कीले बताए । इलामबाट बिरुवा ल्याएर रोपिएको किबीले राम्रै उत्पादन दिइरहेको उनको भनाइ छ ।
‘अलैँची खेतीमा घाटा बेहोरेका किसान किबी खेतीप्रति आकर्षित भएका छन्’, कार्कीले भने, ‘यहाँका धेरै किसानहरुले इलामबाट बिरुवा मगाए पनि बिरुवा अभावले मागेजति बिरुवा पाएनन् ।’ धर्मदेवी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को नगरपरिषद्बाट नै किबी खेती प्रोत्साहनको लागि बजेट समेत विनियोजन गरेको छ ।
यता, चिचिला गाउँपालिका–२ दिदिङका स्थानीय मच्छिन्द्रबहादुर राईले ४ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती शुरु गरेका थिए । यस वर्ष आफ्नो बारीमा ३ सय बढी केजी किबी उत्पादन भएको उनले बताए ।
‘बजारमा माग राम्रै छ, स्थानीय बजारमा प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ,’ उनले भने, ‘यो वर्ष करिब दुई लाख रुपैयाँको हाराहारीको किबी बिक्री भयो ।’ चिचिला गाउँपालिकाको दिदिङ र इम्चोङका करिब २ दर्जनभन्दा बढी किसानले किबी खेती लगाएका छन् । परीक्षणका लागि लगाइएका बोटले उत्पादन दिन थालेपछि व्यावसायिक खेती विस्तार गरेको किसानले बताएका छन् । शुरुमा रहरले रोपेको किबीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेपछि ठिकै गरिएछ भन्ने लागेको किसान मच्छिन्द्रबहादुरले बताए ।
चिचिला गाउँपालिकालाई किबी फलको पकेट क्षेत्रको रूपमा अगाडि बढाउने योजना रहेको कृषि प्राविधिक बलबहादुर विश्वकर्माले बताए । ‘अहिले गाउँपालिकाले उन्नत बिउबिजन अनुदान वितरण कार्यक्रममार्फत सहयोग गरिरहेको बताइएको छ ।