इटहरीः बढ्दो ट्राफिक समस्यालाई समाधान गर्न इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका बस स्टेनलाई व्यवस्थापन गर्ने काम शुरु गरेको छ । नगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन इटहरीबाट विराटनगर, धरान र पूर्व तथा पश्चिमतर्फ जाने बस स्टेनलाई सार्न थालेको हो ।
उपमहानगरले इटहरीबाट चारै दिशामा जाने सार्वजनिक सवारी साधन रोक्ने स्थानलाई परिवर्तन गर्ने भएको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीबाट पूर्वतर्फ जाने सवारीको स्टेन ट्याङ्ग्र्रा खोलापारी रहेकामा त्यसलाई सारेर बुढीखोला छेउ मिलन चोकमा पु¥याइने भएको छ ।
नेपाल बैंक अगाडि रहेको धरान बस स्टेनलाई अहिले रहेको स्थानबाट २ सय मिटर उत्तरतर्फ लगिने भएको छ । त्यसैगरी विराटनगरतर्फ रहेको बस स्टेनलाई चिन्तन चौतारी छेउमा पु¥याइने भएको छ । पश्चिमतिर इटहरी बसपार्कमा मात्रै रोक्ने व्यवस्था मिलाउन लागिएको बताइएको छ ।
छोटो तथा लामो दूरीका यातायातको सङ्ख्यामा भएको वृद्धि र स्थानीय क्षेत्रमा भएको जनघनत्व वृद्धिका कारण ट्राफिक अस्तव्यस्त भएको भन्दै उपमहानगरले सवारी व्यवस्थापन गर्न बस स्टेन सार्ने योजना बनाएको हो ।
बुधबार ट्राफिक प्रहरी र उपमहानगरका कर्मचारीको समन्वयमा प्रस्तावित बस स्टेनलाई डोजर लगाएर सम्याउने काम शुरु भएको छ । गौतमले भनिन्, ‘आवश्यक ढुङ्गा गिटी उपमहानगरपालिकाको स्वामित्वमा भएको नदीबाट निकालिने छ ।’
जनप्रतिनिधिहरूले करिब छ महिनामा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्ययोजना पेश गर्न इटहरी–६ का वडाध्यक्ष दीपक गौतमको संयोजकत्वमा समिति बनाएका थिए । सम्बन्धित विषयका जानकारसमेत रहेको सो कार्यदलले पेश गरेको ट्राफिक व्यवस्थापनको उपाय र कार्ययोजना सहितको योजना कार्यपालिकाले पनि पास गरेको थियो ।
सर्वपक्षीय सहभागितामा बनाइएको सो प्रतिवेदनमा बस स्टेन, टेम्पो स्टेन, मोटरसाइकल पार्किङलगायतका सम्पूर्ण ट्राफिक व्यवस्थापनसम्बन्धी विषय समावेश छन् । सबै क्षेत्रमा एकै पटक व्यवस्थापन गर्न नसकिने भएकाले हाललाई सार्वजनिक बसको स्टेनलाई खुला ठाउँमा सार्ने तयारी शुरु गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
‘पश्चिम लाइनको टेम्पो स्टेनको व्यवस्थापनको काम पनि शुरु भइसकेको छ । अरु भीडभाड हुने ठाउँमा पनि व्यवस्थापन हुँदैछ,’ उपप्रमुख गौतमले भनिन्, ‘म कार्यवाहक प्रमुख भएको बेला शुरु गरिएको विषयलाई अहिले कार्यवाहक प्रमुख भएको बेलामा कार्यान्वयन गर्न लागिएको हो ।’