विराटनगरः हिजो साँझ ५ बजे प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । जसमा बारा, पर्साका हुरीपीडितलाई १ करोड र चतरामा लाग्ने अर्धकुम्भ मेलाका लागि ५० लाख दिने निर्णय गरेको छ । बुँदागत रुपमा प्रदेश सरकारका निर्णय यस्ता छन्ः

१) गाउँ तथा नगर सभाका सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

२) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधासम्बन्धी ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

३) प्रदेश शासकीय सुधार एवम् सुदृढीकरण सहयोग परियोजना सम्बन्धमा निर्णय भएको छ ।

४) सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

५) बृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

६) दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल सहयोग समिति प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठन गरिएको छ । सो मेलाका लागि रु. ५० लाख सहयोग गर्ने निर्णय गरिएको छ ।

७) प्रदेश प्रहरीको गठन, सेवा, शर्त र सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

८) सङ्घ संस्थालाई प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृति प्रदान गरिएको छ ।

९) चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधि, २०७५ लाई स्वीकृति प्रदान गरिएको छ ।

१०) चैत १७ गते प्रदेश नम्बर २ का बारा र पर्सामा आएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै उक्त विपत व्यवस्थापन गर्नका निम्ति १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।