तस्बिरः गुरू ढकाल
इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति विजयकुमार गच्छदारले आफु कार्यक्रममा ढिला गरी उपस्थिति भएको भन्दै माफी मागेका छन् ।
नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तोकिएको समयमा आइनपुगेको स्वीकार गर्दै उनले माफ गरिदिन आग्रह गरेका हुन् । तोकिएको समयभन्दा ३ घण्टा ढिलो गरी आएका उनले आफू बाटोमै केही व्यक्तिगत र राजनीतिक कामले अल्झनु परेको स्पष्टीकरण दिए ।
‘प्रेस युनियन सुनसरी र नेपाली काङ्ग्रेसबीच सहकार्य तथा आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम’मा उनी ढिलो उपस्थित भएका थिए । साढे ९ बजेको लागि समय निर्धारण गरिएकोमा उनी १२ बजेपछि मात्र कार्यक्रम स्थलमा उपस्थित भएका थिए । पत्रकार साथीहरूले नेताहरूको व्यस्तताको बाध्यता बुझिदिनुपर्ने उनले बताए ।
‘नेपाली काङ्ग्रेसका पुराना नेता शम्भु बास्तोला बिरामी हुनुहुँदो रहेछ । उहाँलाई भेट्न नोबेल मेडिकल कलेज गएँ । उहाँको अवस्था धेरै नाजुक रै’छ,’ उनले भने, ‘उहाँलाई भेट्न जाँदा गाउँघरका अन्य बिरामीलाई पनि भेट्नुप¥यो । त्यसैले ढिला भइहालेछ ।’
गच्छदारभन्दा अगाडि बोलेका प्रेस युनियनका प्रदेश १ संयोजक लीलाबल्लभ घिमिरेले प्रमुख अतिथि गच्छदार आफँै ढिलो आउँदा आफूहरू निराश भएको बताएका थिए । पत्रकारको समय अत्यन्तै व्यस्त हुने भन्दै उनले अन्य कार्यक्रममा ढिलो नगर्न आग्रह गरे । त्यसपछि बोलेका गच्छदारले घिमिरेले २ घण्टा ढिलोलाई बढाएर ४ घण्टा भनेर आफू पनि ढिलो आएको समय जोडेको भनी व्यङ्ग्य गरेका थिए ।
मञ्चतिर हेर्दै गच्छदारले भने, ‘उहाँलाई सुनाइदिनु आफु ढिला गरेर अरुलाई समय जोड्न मिल्दैन भनेर ।’ सम्बोधनको पूरा समय कार्यक्रममा ढिलो आएको र आफूले गरेको कामको बारेमा बोलेर उनले खर्चिए । एक घण्टा बोलेका उनले आफू लामो समय नबोल्ने बताए । त्यसपछि हलभर ठूलो हाँसो फैलिएको थियो ।
प्रेस युनियनले गरेको कार्यक्रम फलदायी रहेको र यसले नेताहरू लाई खबरदारी गरेको उनको भनाइ थियो । नेपाली काङ्ग्रेस लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा सङ्घर्ष गरेको पार्टी भएकोले प्रेस र काङ्ग्रेसबीच घनिष्ठ सम्बन्ध रहेको उनले बताए । आफू सञ्चारमन्त्री भएको बेलामा नै राष्ट्रिय सञ्चार नीति लागू भएको र पत्रकारलाई राज्यको चौथो अङ्गको मान्यता दिएको उनले स्मरण गराए ।
उता काङ्ग्रेसका सुनसरी जिल्ला सभापति राजीव कोइरालाले पत्रकारले पार्टीको सकारात्क कुराको प्रचार र नकारात्मक कुरामा खबरदारी गर्नुपर्ने धारणा राखे । कहिलेकाहीँ अनावश्क चाकरी गर्ने र कहिले भएको कुरा पनि प्रचार नगर्ने हुँदा प्रेसप्रतिको विश्वसनीयता घट्न सक्नेमा उनले ध्यानाकर्षण गराए ।