धनकुटाः बुधबार मध्याह्न्नको १२ बज्नै लाग्दा नौमती बाजासहित स्थानीय नाचगानमा व्यस्त थिए । कोही हातमा फूल लिएर बसेका थिए त कोही माला अनि कोही अबिर र कोही अक्षता लिएर बसेका थिए ।

नजिकै एक घरमा खसी काटेर भोजसमेत लगाइएको थियो । गाउँ प्रवेश गर्ने ठाउँमा गेट निर्माण गरिएको थियो । त्यहाँको अवस्था देख्दा लाग्थ्यो गाउँमा उच्च ओहोदाको व्यक्तिको स्वागतको तयारी हुँदैछ । केही छिनमै धनकुटाका प्रदेश सांसद निरन राई, कुसुमकुमारी श्रेष्ठ, पूर्व सभासद हेमराज भण्डारीसहित धनकुटाको चौबिसे गाँउपालिकाका जनप्रतिनिधिको समेत प्रवेश भयो ।

सबै जना स्थानीयको रमाइलो माहोलमा घुलमिल भए । सबै मिलेर कसैको स्वागतको पर्खाइमा रहेको बुझ्न कठिन हुँदैनथ्यो । केही क्षणको प्रतीक्षापछि एउटा बस गाउँमा प्रवेश गर्याे र सबै बसतर्फ अघि बढे । कोही बसलाई पूजा गर्न थाले त कोही बस गाउँसम्म प्रवेश गराउने गुरुजीलाई ।

यो माहोल गत बुधबार धनकुटाको चौबिसे गाउ“पालिकास्थित कुरुलेतेनुपाको फलामेटारमा पहिलो पटक बस पुग्दाको हो । मूलघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म ट्रयाक खनिएको तमोर करिडोरको सडकको मूलघाट—फलामेटार खण्डमा पहिलो पटक बस सञ्चालनमा आएपछि स्थानीयले बस र बस चालकलाई भव्य स्वागत गरेका थिए ।

गाउँमा को १ ख ६७३१ नम्बरको चौबिसे यातायात पहिलो पटक प्रवेश गरेको थियो । सवारी साधनले चौबिसेको भंैसेटारदेखि धरानसम्म सुविधा दिन लागेको हो । धनकुटाको कर्णालीको रूपमा चिनिने कुरुलेको तल्लो भेगमा पहिलो पटक गाडी पुग्दा स्थानीय निकै हर्षित देखिन्थे । आफ्नो गाउँघरबाटै गाडी चढ्ने सपना बल्ल पूरा भएको स्थानीय महेन्द्र न्यौपानेले बताए । सो बाटोमा ठूला सवारी साधन चलाउने आफ्नो पुरानो सपना बल्ल पूरा भएको धनकुटाका पूर्व सभासद् हेमराज भण्डारीले बताए ।

करिब ७ अर्बको लागतमा निर्माण हुने तमोर करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । सीमान्तकृत माझी जातिको बसोबास रहेको भैंसे क्षेत्रसम्म बस सञ्चालन गर्न सडक व्यवस्थापन कार्य भइरहेको प्रदेश सांसद निरन राईले बताए ।

यो यातायात सञ्चालनमा आएपछिे सवारी साधन चढ्न घण्टौँ हिँडेर राजारानी, मूलघाट, धनकुटा बजारलगायतका स्थान पुग्नैपर्ने बाध्यताको अन्त्य भएको छ । यो सडक खण्डमा पहिलेदेखि नै सवारीका साधन चल्ने गरेका थिए । तर, पाँचथरको मौवालगायत विभिन्न स्थानबाट यात्रु भरेर सिधै धरान जाने भएकाले स्थानीयवासी यातायातका साधन हेरेरै चित्त बुझाउन बाध्य थिए ।

gauma bus