बेलबारीः एकै छिनमा कुहिराले डाँडाकाँडा ढाक्ने अनि एकै छिनमा हट्ने मात्रै होइन एकै छिनमा सिमसिम पानी पर्ने र तुरुन्तै रोकिने विशेषता जेफालेको रहेको छ । समुद्री सतहदेखि १ हजार ९ सय ८० मिटरको उचाइमा रहेको छ, जेफाले डाँडाको भ्यु टावर ।
त्यहाँ पुग्न पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैंचाको खोर्सानेबाट उत्तरतर्फ लाग्नुपर्छ । खोर्सानेबाट ३४ किलोमिटर टाढा रहेको जेफालेमा पुग्न मोटरसाइकल र भ्यानलाई डेढदेखि २ घण्टा लाग्छ । जेफाले पुग्ने अर्काे बाटो भनेको धरानबाट भेडेटार, राजरानी हँुदै जाने बाटो हो ।
मोरङको केराबारी–२, बिहीबारेमा रहेको जेफाले फरक विशेषता भएको ठाउँ हो । मोरङ र धनकुटा जिल्लाको सिमानामा पर्ने जेफालेमा ४ तले भ्यु टावर रहेको छ । बिहीबारे बजारबाट ३ सय मिटर उत्तर पुगेपछि प्रवेशद्वार आउँछ । भ्यु टावर चढ्नकै लागि पर्यटकहरू जेफाले पुग्ने गरेका छन् ।
दिउँसो २÷३ बजे जेफाले पुग्ने अनि त्यहीँ बास बसेर भोलिपल्ट भ्यु टावर चढ्ने पर्यटक धेरै हुन्छन् । १ हजार ५० सिँढी चढेपछि भ्यु टावर पुगिन्छ । त्यहाँ पुगेर पहिले सूर्याेदयको रमाइलो दृश्य हेर्ने गरेका छन् । त्यहाँबाट पूर्वका १६ जिल्ला देखिनुका साथै हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न र साँझमा सूर्यास्तको रमाइलो दृश्य हेर्न सकिने स्थानीय बताउँछन् ।
जेफालेमा हाल आन्तरिक पर्यटनका साथै भारतको विहार प्रान्तका पर्यटकहरूको आगमन हुने गरेको छ । सधैं सरर हावा चलिरहने हुनाले जेफालेलाई हावेचौर पनि भन्ने चलन छ । भ्यु टावरको दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ, जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले बिहीबारेमा होमस्टे सञ्चालनमा ल्याइएको छ ।
बिहीबारेमा २१ घरको बसोबास रहेको छ जसमध्ये ७ घरले होमस्टे सञ्चालन गरी पर्यटकहरूलाई खुशी पारेका छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरूबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा तथा चण्डी नाच नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।
मगर समुदायको हुर्रा र राईहरूको चण्डी नाच हेर्नको लागि २ दिन पहिले नै जानकारी गराउनुपर्ने नियम छ । जेफालेमा विशेष गरी माघदेखि भदौसम्म पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटन कार्यालय काकडभिट्टामा दर्ता गराई होमस्टे सञ्चालनमा ल्याइएको छ ।
गर्मी बढ्यो पर्यटक पनि बढे
जेफालेमा ७ वटा होमस्टे रहेका छन । गर्मी बढेसँगै ती होम स्टेमा पर्यटक समेत बढेका छन । होमस्टे भरिभराउ हुन थालेका छन् । ‘जाडोमा भन्दा गर्मीमा भीड हुन्छ । प्रत्येक घरमा दुई वटा कोठा होमस्टे रहेका छन्’ व्यवसायी नारायण राईले भने, ‘ती होमस्टेका कोठा खालि हुँदैनन् ।’ उनका अनुसार एक घरमा ८ देखि १० जनासम्म बस्न सक्छन् ।
जेफालेमा के खान पाइन्छ ?
जेफाले होमस्टेमा रैथाने कुखुराको मासु, भात, ढिँडो खान पाइन्छ । स्थानीयले उत्पादन गरेका प्राङ्गारिक साग, कोदाको रोटी, मकै, अर्गानिक चिया, भुइँस्याउ, सुन्तला, किबीलगायतका खाने कुरा खुवाएर स्वागत गर्ने गरिन्छ ।
फर्किँदा बिदाइ
होमस्टेमा बास बसेका पाहुनालाई हिँड्दा बिदाइ गर्ने गरिएको छ । आफ्नो होमस्टेमा बसेर बिदा भएका पाहुनालई फूलमाला, अबिर लगाएर बिदाइ गर्ने गरेका छन् ।