उदयपुरः सप्तकोशी क्षेत्रपछि बढी पंक्षी पाइने ३० किलोमिटर लामो त्रियुगा नदी किनार क्षेत्र हिजोआज पंक्षीविहीन हुन थालेको छ ।

केही वर्षदेखि सो नदी किनारको सिमसार क्षेत्र तीव्र रूपमा अतिक्रमण भएपछि यहाँ पाइने दुर्लभ पंक्षी विस्थापित भएको स्थानीय बताउँछन् । स्थानीय चुहाडे, गाईघाट, जोगीदह क्षेत्रदेखि चौदण्डीको हँडिया, सिवाइ र सुन्दरपुरको नदी किनारका बासिन्दाले अतिक्रमण गरी खेतीपाती गर्दै आएकाले दुर्लभ मानिएका चरा अहिले बस्ने र खाने आहाराको अभावमा विस्थापित भएको स्थानीयको भनाइ छ ।

केही वर्ष अघिसम्म नदी किनारको सिमसारमा थुप्रै पाइने सेतो बकुल्ला, सारस, पानीहाँस, सिमकुखुरा, हुटिट्याउँ सिमसार क्षेत्र मासिएपछि पाइन छाडेको हो । स्थानीयका अनुसार केही वर्ष अघिसम्म सिमसार क्षेत्र हुँदा यसक्षेत्रमा धेरै दुर्लभ पक्षी सप्तकोशी नदी हुँदै त्रियुगा क्षेत्रमा आएर बासोबास गर्ने गर्दथे ।

नगरपालिकाको चुहाडेदेखि त्रियुगा नदीको दायाँबायाँ क्षेत्र हुँदै चौदण्डीको सिवाइ र सुन्दरपुरसम्मको झण्डै ५ सय हेक्टर भन्दा बढी सिमसार मिचेर स्थानीयवासीले खेती गर्नुका साथै बसोबाससमेत गर्न थालेपछि अहिले यस क्षेत्रमा पाइने दुर्लभ पंक्षी विस्थापित भएको गाईघाट दुर्गाटोलका रत्न पोखरेल बताउँछन् ।

चराको मुख्य आहार भनेको माछा तथा भ्यागुता भएकोे र सिमसारक्षेत्र मासिँदा माछा तथा भ्यागुता पाउन छाडेकाले खानाको अभावमा यस्ता दुर्लभ पंक्षी विस्थापित भएको जनता मावि जोगिदहका शिक्षक राजाराम राई बताउँछन् ।

उता, सिमसारको संरक्षणमा स्थानीय सरकारले जोड दिने नगरप्रमुख बलदेव चौधरी बताउँछन् ।

त्रियुगा क्षेत्रमा अहिले पनि झण्डै ५० प्रजातिका चरा पाइने गरेकाले अब अन्य छिमेकी स्थानीय तहसँग मिलेर त्रियुगादेखि सप्तकोशीको तपेश्वरी क्षेत्रसम्मको ३० किलोमिटर नदी किनार क्षेत्रलाई चराको आवासको रूपमा विकास गर्न पहल गर्ने उनले बताए ।

सिमसार क्षेत्र बचाउन र दुर्लभ चराको संरक्षण गर्न यस क्षेत्रको अतिक्रमणमा प्रतिबन्ध लगाएर विगतको जस्तै चराको बसोबास क्षेत्र बनाइ पर्यटन विकास गर्न सकिने हुँदा यो अभियान अब यस क्षेत्रका स्थानीयवासी र सरकारले शुरु गर्न आवश्यक भइसकेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राई बताउँछन् ।

रुसको साइबेरिया र युरोपबाट सप्तकोशी नदीमा आउने पंक्षीसमेत त्रियुगा नदीक्षेत्रमा आहारा खोज्दै आउने गरेको यस क्षेत्रका चरासम्बन्धी जानकार बताउँछन् ।