इलामः तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ ।
प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रेको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रे, थार, चरीबाघ लगायत सयौँ प्रजातिका चराको वासस्थान रहेको उत्तरी इलामको उक्त वनलाई संरक्षित क्षेत्र बनाउन थालिएको हो । सन्दकपुर गाउँपालिका–५ को पिप्लेदेखि २ को बिखेभञ्ज्याङसम्मको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन समुदाय, जनप्रतिनिधि, संरक्षणकर्मी र वन कार्यालय लागेको गाविस अध्यक्ष उदयबहादुर राईले बताए ।
३६ प्रजातिका गुराँसका बोट रहेको जङ्गल तीव्र फँडानी भएपछि संरक्षणको अवधारणा बनाउन गाउँपालिकाले डिभिजन वन कार्यालयलाई एक वर्ष अघि जिम्मा दिएको थियो । वन संरक्षण योजना लागि स्थलगत सर्भेक्षण र तथ्याङ्क सङ्कलन गर्ने काम सकिएकाले सामुदायिक वन गठनपछि संरक्षणको जिम्मा समुदायलाई दिने इलाम डिभिजन वन कार्यालयका प्रमुख श्रीप्रसाद बरालले बताए ।
भारतसँगको खुला सिमानाका कारण काठ तस्करी गर्न सजिलो हुँदा जङ्गल फँडानीले सो क्षेत्रमा वन्यजन्तुको वासस्थान मासिँदै आएको थियो । वासस्थान मासिँदा यस वर्ष मात्रै दुई वटा हाब्रे मृत भेटिएका थिए । भारतसँग सीमा जोडिएको वन क्षेत्रमा पसेर काठ कटान गरी भारतका व्यापारिक क्षेत्रमा निकासी गर्दै गर्ने क्रम बढेपछि सामुदायिक वन निर्माण गरी संरक्षित क्षेत्र बनाउने अवधारणा अघि सारिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
लालपुर्जा नभएको जङ्गलमा परेर पुर्खाको किपट भन्दै वन मास्ने काममा संलग्नलाई सामुदायिक वन बनाउने शर्तमा एक पटक कानुनी कारवाही नगरिएको उनले बताए ।
जङ्गलमा पसेर रुख काट्ने क्रम नरोकिए कानुनी कारवाही गर्ने र सामुदायिक वन गठनपछि कार्ययोजनाअनुसार काम गर्ने सहमतिमा २ वटा सामुदायिक वन गठनको काम अन्तिम चरणमा पुगेको बताइएको छ । स्थानीय समुदायकै संलग्नतामा जग्गा धनीपुर्जा बाहिरको घना जङ्गल संरक्षणसँगै खुला क्षेत्रमा वृक्षरोपणको काम अघि बढ्ने सन्दकपुर सब डिभिजन कार्यालयका प्रमुख सुशील मण्डलले बताए ।
सो गाउँपालिकाको अगुवाइमा पद्मसम्भव र लालीगुराँस सामुदायिक वन समूह गठन गरी संरक्षित क्षेत्र बनाउने काम भइरहेको छ । जिल्लाको सबैभन्दा अग्लोे ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर र ३ दर्जन बढी सिमसार क्षेत्र सो वनमा पर्छन् ।
माई खोलाको मुहानसमेत रहेको सो क्षेत्रमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको बसोबास रहेकाले प्राथमिकताका साथ संरक्षणको योजना आगामी आर्थिक वर्षदेखि शुरु गरिने गाउँपालिकाका अध्यक्ष राई बताउँछन् ।