इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक पर्यटनको केन्द्र भएको बताएकी छिन् । सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन गर्दै उनले धार्मिक पर्यटनको क्षेत्रबाट प्रदेश १ ले तीव्र आर्थिक विकास गर्न सक्ने बताएकी हुन् ।

मन्दिर उद्घाटनपछि राष्ट्रपति भण्डारीले मन्दिरमा विशेष पूजा गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन् । विद्वान विदुषीको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘नेपालको पूर्वी क्षेत्र देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुने सम्भावना बोकेको छ,’ उनले भनिन्, ‘सुविधायुक्त सार्वजनिक यातायात, पर्यटकीय सुविधाका अन्य पूर्वाधारमा सम्बन्धित निकायले ध्यान दिने हो भने आर्थिक विकासमा नयाँपन ल्याउन सकिन्छ ।’

करिब ७ करोडको लागतमा निर्माण भएको श्रीकृष्ण प्रणामी मन्दिरको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । विभिन्न दाताबाट प्राप्त सहयोग र चन्दा सङ्कलनबाट मन्दिर निर्माण गरिएको बृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

मन्दिर उद्घाटन समारोहमा उपस्थित भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक क्षेत्रको विकास र बिस्तारमा सरकारको ध्यान गएको बताए । छिमेकी देश भारतमा रहेका पर्यटकलाई आकर्षित गर्ने खालका धार्मिक पर्यटकीय कार्यक्रम अगाडि बढाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, महिला तथा बालबालिका मन्त्री थममाया थापामगर, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायतको उपस्थिति थियो ।