विराटनगर: प्रदेश १ संसदले रक्सीको लत छुटाउन प्रयोग गरिने औषधीको खुल्ला बिक्री गर्न दिनुपर्ने माग गरेका छन् । सङ्घीय समाजवादी फोरमका सांसद रामचन्द्र लिम्बूले जाँडरक्सी सेवन गरेर कुलतमा फस्नेहरूको आदत सुधार गर्न चाहिने लोरा जेपाम औषधिको आयात खुला गर्नुपर्ने माग राखे ।
उनले भने,‘‘सङ्घीय सरकारले प्रतिबन्ध गरे पनि झापा र मोरङका नाकाबाट यो औषधि लुकिछिपाई आयात भएकै छ त्यसैले रोक्नुभन्दा खुला गर्न आवश्यक छ ।’’
उनले यो काममा प्रदेश सरकारले पहल लिनुपर्ने बताए । उनले धनकुटाको आयुर्वेद अञ्चल अस्पताललाई विराटनगर नसार्न माग गरे ।
प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन,वन तथा वातावरण जगदीश प्रसाद कुसियैतले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न विधेयक उपर उठेको प्रश्नको जवाफ दिएका थिए । कुसियैतले कानुन शतप्रतिशत पूर्ण नहुने बताउँदै पर्यटन सम्बन्धी विधेयकलाई पूर्ण बनाउन सदनकै हात रहने बताउँदै भने, ‘‘पर्यटनसँग सम्बन्धित कानुनलाई व्यवस्थित बनाउने अझ घनीभूत छलफल गर्न विधेयकलाई समितिमा पठाउन सकिन्छ ।’’
प्रदेशसभाले सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउन सहमति दिएको छ । प्रदेश पर्यटन विधेयकमा संशोधन हाल्न बैठकले ७२ घण्टाको समय दिएको छ ।