धरानः धरान– ८ का चक्रबहादुर गुरुङ लामो समयदेखि पहाडी रुटमा गाडी चलाउँथे । सदाझै सोमबार उनी धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरानका लागि बिहान ७ बजे छुटे । झन्डै ५० यात्रु लिएर धरान झरेका गुरुङले धरान आइपुग्न केही समय मात्र बाँकी रहँदा ब्रेकले काम नगरेको थाहा पाए ।

धरानको जिरो प्वाइन्ट आइपुग्नुभन्दा ५ सय मिटर माथि नै चालकले ब्रेक फेल भएको थाहा पाए । गाडी लरबरिन थालेपछि त्यसको सुइँको केही यात्रुले पाए । ओरालो बाटोमा गाडीको गति झन्झन् बढ्न थालेपछि यात्रुहरूको होश उड्यो । यात्रुको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालयका डीएसपी सुमन तिम्सिनाले प्रदेश पोर्टललाई भने, ‘यात्रुले पनि थाहा पाएका रहेछन् । चालकले ५ सय मिटरदेखि नै गाडी जोत्ने सुरक्षित स्थान खोजिरहेको थाहा पाइयो ।’

घाइते यात्रुको विवरण बीपी प्रतिष्ठानमा लिइरहेका तिम्सिनाका अनुसार चालकले कुनै रूख वा माटोको ढिस्कोजस्तो सुरक्षित स्थान खोजिरहेका थिए । जहाँ गाडी ठोकिए पनि धेरै क्षति नहोस् भन्ने नै देखिन्छ । उनले भने, ‘जब जिरो प्वाइन्ट आयो त्यहाँ बिजुलीको पोल, सिमेन्टको सानो संरचना र नजिकै रूख देखिन्छ । त्यही देखेर चालकले गाडी त्यता मोडेको प्रस्ट भयो ।’ यो घटना दिनको ठीक १ः३० बजेको हो ।

ओरालो बाटो हुँदा क्षति बढी भएको उनको बुझाइ छ । यात्रुका अनुसार चालकले कम क्षति होस भन्ने चाहेरै निकै बचाउने प्रयास गर्दा पनि आफूसहित ४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चालक गुरुङसहित बलबहादुर मगर, यामकुमारी मगर र सात महिने बालिका रहेको जानकारी प्रहरीले दिएको छ । बालिकाको स्पष्ट पहिचान भने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

अहिले ४४ जना घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

56649449_2521277754595075_4562224891578810368_n 56635096_2521277974595053_752659281655889920_n 56732729_2521277681261749_7477263407767355392_n 56917757_2521277717928412_6710464144585261056_n