इटहरीः प्रदेश १ का हिमाली क्षेत्र बाहेकका तल्लो क्षेत्रमा विदेशबाट कम पर्यटकहरू आउँछन् । पछिल्लो समयमा भने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्रमा विदेशी पर्यटकहरू बाक्लो आउन थालेका छन् । यसरी आउनुमा शक्तिपिक फेस्टिबल नेपाल नामक विश्वस्तरीय सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम सञ्चालन हुनु पनि धेरै कारणमध्येको एक कारण हो । गत वर्ष शक्तिपिक फेस्टिबल नेपाल प्रालिले नेपाली नयाँ वर्षको पूर्वसन्ध्या तथा गुराँस फुल्ने समयमा यस्तै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सयौँ विदेशी सहभागी थिए ।
यस पटक पनि सोही संस्थाले कार्यक्रमको आयोजना गर्न लागेको थियो । चैत २२ गतेदेखि ५ दिनसम्म हुने कार्यक्रममा ३ सय विदेशी तेह्रथुमको वसन्तपुर पुग्न लागेका थिए । तर, सङ्खुवासभाका सिडिओ गणेशबहादुर अधिकारीको निर्देशनमा आगन्तुकहरू बाटैबाट फर्काइए ।
उनीहरूलाई गाडीबाट पनि ओर्लन दिइएन । सङ्खुवासभाबाट फर्काइएका उनीहरू धनकुटाको हिलेमा अलपत्र परे । होटल तथा रिसोर्टका कोठामा नअटेपछि खुला स्थानमा बस्न बाध्य भए । यी सबैको विरोधमा छन् कार्यक्रम स्थलको स्थानीय सरकार मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप । उनै मेयर लिङ्थेपसँग प्रदेशपोर्टलकर्मी विराट अनुपमले गरेको कुराकानीको सारांशः
टीएमजेबाट पर्यटकहरू प्रशासनबाट फर्काइए तर तपाईं भने फूलमाला लिएर बस्नु भएको थियो । किन यस्तो भयो?
गत वर्ष पनि यस्तो कार्यक्रम भएको थियो । प्रशासन र स्थानीय सरकार दुवैले अनुमति दिएको थियो । यो पटक गत वर्षको हेरेर स्थानीयको सकारात्मक कुराले स्थानीय सरकारले अनुमति दिएको हो । तर, सिडिओ कार्यालयले दिएन । पर्यटनविरोधी रुढीग्रस्त पुरातनपन्थी सोचको कारणले यस्तो भएको हो । सिडिओको सोही सोचको घनले कार्यक्रम र आयोजकमाथि प्रहार भयो ।
सिडिओ गणेशबहादुर अधिकारीले त गाँजा जस्ता लागूऔषध र यौनजन्य गतिविधि हुने भएकाले रोक लाएको भनेका छन् नि ?
कहाँ आयो गाँजा ? गाँजा भेटिएमा त प्रहरी र प्रशासनले सर्च गरेर पक्राउ गर्नुपथ्र्यो नि । कार्यक्रमस्थलमा यौनजन्य क्रियाकलाप हुने भनिएको छ । त्यो भएको कुनै तथ्य छ ? प्रमाण छ ? अनुमानका भरमा विदेशी पर्यटकहरूलाई यातना दिने ? यो गलत छ । पशुपतिमा नाङ्गा साधु आउन दिने, गाँजा खान दिने तर यहाँ आएका विदेशीलाई चाहिँ नखाइकन पनि धरपकड गर्ने कुरा राम्रो भएन । त्यस्तो क्रियाकलाप हुन सक्छ भन्ने अनुमानका आधारमा सबै पर्यटकलाई लखेट्ने काम राम्रो भएन ।
सिडिओसँग स्थानीय सरकारको तर्फबाट तपाईंको कुनै पूर्व तयारी वा निषेधको बारेमा छलफल भएन ?
दिउँसो सिडियोसँग कुरा भएको थियो । दिउँसो दिने तर राती नदिने कुरा भएको थियो । मैले पनि सहमति जनाएको थिएँ । भरे, दिउँसो पनि नदिने उर्दी आयो । पुलिस प्रशासन र सिडिओले आफ्नो डन्डाको अधिकारको दुरुपयोग गरेर कार्यक्रम हुन दिएनन् ।
स्थानीय जनताहरू, सर्वदलीय पदाधिकारीहरूको आग्रहमा यस्तो गरिएको भनेका छन् सिडिओले । त्यो के हो ?
त्यो गलत कुरा हो । कार्यक्रम नहोस् भन्ने स्थानीय कोही पनि थिएनन् । बरु पोहोर साल चौकीको बस्तीबाट अलिक पर भएकाले झन् वर ल्याउन आग्रह स्थानीयले नै गरेका थिए । कार्यक्रमलाई निषेध गरेको खबर पाएपछि स्थानीयले नाराजुलुस र चक्काजाम पनि गरे । स्थानीयवासी सो कार्यक्रम बन्द भएकोमा आक्रोशित छन् । कार्यक्रम सार्वजनिक जग्गामा नभएर व्यक्तिको जग्गामा भएको मलाई वडाध्यक्ष पासाङ शेर्पाले बताउनुभएको छ ।
यो कार्यक्रमको निषेधले टिएमजे क्षेत्रको पर्यटनमा कस्तो असर गर्ला ?
यसको असर धेरै नराम्रो हुन्छ । तीन सय विदेशीहरू र तिनका ८० हाराहारी देशमा नेपाल र टिएमजेको बारेमा गलत म्यासेज जानेछ । उनीहरू त फर्केर नेपाल आउँदैनन् नै । उनीहरूका साथीहरूलाई पनि नआउन भन्छन् । नेपाल सरकारको पर्यटन भिजन २०२० लाई यसले धेरै असर गर्छ । २० लाख पर्यटक ल्याउने कुरा सरकारको छ । सबै २० लाखै त हिमाल हेर्न र उपन्यास लेख्न त आउँदैनन् । मनोरञ्जन गर्न पनि आउँछन् । आएकाहरूलाई विभिन्न अनुमान र बहानाका भरमा त्यसो गर्नु गलत हो ।
कार्यक्रम सञ्चालनको बारेमा प्रदेशको उच्च अदालत धनकुटा इजलासमा रिट परेको छ । रिटले गर्दा पुनः कार्यक्रम हुने बारेमा फैसला भएमा होला त कार्यक्रम ?
अब पुनः कार्यक्रम हुने सम्भावना छैन । विदेशीहरू घर फर्किँदै छन् । नेपालको पर्यटन विरोधी तत्वले कार्यक्रम गर्न दिएनन् । सिडिओ र पुलिस प्रशासनको मिलेमतोमा यो सबै भएको हो । यसले टीएमजे क्षेत्रको पर्यटकीय विकासमा ठूलो बाधा पुर्याएको छ । स्थानीय सर्वसाधारण, पर्यटन व्यवसायीदेखि जनप्रतिनिधि सबै प्रशासनको यस्तो गलत हर्कतको विपक्षमा छौँ ।